Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


सोलुखुम्बुको फोक्टेडाँडामा बुद्ध भ्यू-पार्क बन्दै (भिडियाे रिपाेर्ट)

३६० डिग्रीमा हिमाली र पहाडी भू-भागकाे दृष्यावलोकन गर्न सकिंने

104
Shares

सोलुखुम्बु। सामाजिक सञ्जाल टिकटक लाइभमार्फत रकम जुटेपछि सोलुखुम्बुको फोक्टेडाँडामा बुद्ध भ्यू पार्क बन्ने भएको छ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिकामा रहेको फोक्टेडाँडामा ३ सय ६० डिग्रीमा हिमाल र पहाडका दृष्यहरु अवलोकन गर्न मिल्ने गरि पार्क निर्माणको कामले सार्थकता पाएको हो। सोलुदूधकुण्ड नगरपालिका-१० मा रहेको फोक्टेडाँडामा बुद्ध भ्यू पार्क बनाउने योजना तीन वर्ष पहिले नै तयार भए पनि त्यसले पूर्णता पाउन सकेको थिएन । सिँढी र पार्कस्थलको केही संरचना वडा कार्यालयले निर्माण गरेता पनि पार्कको काम अधुरै थियो ।

स्थानीय समेत रहेका अमेरिकानिवासी एसी शेर्पाले टिकटक लाइभमा खेल आयोजना गर्दै ४० लाख सहयोग जुटाउन सफल भएपछि पार्क बन्ने निश्चित भएको हो। उक्त रकममा १५ लाख रुपैया थपेर शेर्पाले कूल ५५ लाख बुद्धपार्क निर्माणका लागि उपलब्ध गराईसक्नुभएको छ। करिब २ हजार ९ सय मिटरको उचाइमा अवस्थित यो फोक्टेडाँडा पिके पिक जाने प्रवेशद्वार पनि हो।

बुद्ध भ्यू पार्कमा स्तूपा, ध्यान तथा अवलोकन क्षेत्र, बगैंचा, फोटो–सेसन स्पट र पर्यटक विश्राम स्थल निर्माण गर्ने योजना रहेको छ। तीन वर्षदेखि प्रयासरत योजना बजेट अभावका कारण ढिलाइ भए पनि शेर्पाको सहयोगपछि पूर्णता पाउने वडाध्यक्ष होमबहादुर मगरको विश्वास छ।

बुद्ध भ्यू पार्क निर्माण भएपछि पिके पिक जाने पर्यटकीय पदमार्ग प्रबर्द्धन हुने, हिमाली-पहाडी दृष्यावलोकन गर्न पाइने, यस क्षेत्रको प्रचारप्रसार हुने र स्थानीय स्तरमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको हाे। परियोजना पूरा भएपछि सगरमाथाको काखमा पर्ने यो बुद्ध भ्यू पार्क सोलुखुम्बुको नयाँ पहिचानका रूपमा स्थापित हुने पनि विश्वास गरिएको छ।

भिडियाे रिपाेर्ट:


Skip This