Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न


0
Shares

काठमाडाैं। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ।

त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आइतबार तिलकोत्सव विधि गरिएको हो। राममन्दिरको प्रांगणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव पुग्नुभएको थियो । प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधाम स्थित राम मन्दिरका महन्थबीच अंकमाल गर्दै समधी मिलन गरिन्छ ।

यस वर्ष जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीले समधी मिलन गर्नुभएको छ। तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास्य सपरिहास समेत भएको थियो । जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौं पाहुनाका साथ श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणनमा आएर तिलकोत्सव कार्यक्रममा सहभागि भएका थिए ।विवाहपञ्चमीको पाँचौ दिन सोमबार माता सीताको मटकोर हुने भएकाे छ। मटकोर विधि गंगासागर पोखरीमा हुने भएकाे हाे।

मंगलबार भने विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ। बुधबार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुने भएकाे जनाइएकाे छ।