काठमाडाैं। संघीय राजधानी मात्र नभएर देशैभरी यति बेला जाडो बढ्न थालेको छ।
राजधानीमा जाडो बढ्न थालेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार धाउनेहरु पनि बढ्न थालेका हुन् । बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो । तर बदलिँदो समय र भित्रिँदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरुको आकर्षण बढेको छ। दैनिक रुपमा बढ्दै गएको चिसो मौसमका कारण काठमाडौंमा हिटर र गिजर अनि एसी लगायतका विद्युतीय सामग्रीको व्यापार बढेको ब्यापारीहरु बताउँछन् ।
कात्तिकको अन्त्यदेखि नै बढेको हिटर- गिजरको व्यापार यो समयसम्म आइपुग्दा तिब्र हुन थालेको व्यवसायीहरूको भनाइ छ। जाडो शुरु भएकोले अझै हिटर, एसी र गिजर लगायतका विद्युतीय सामाग्रीको ब्यापारमा वृद्धि हुने व्यापारीहरु बताउँछन् । कोटेश्वरमा पसल गर्दै आएका सन्तोष बरालले हिटर- तातोपानीका धाराहरु धेरै बिक्री गरिरहेको बताउनुभयो । काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष मिलन सिवाकोटी अहिले नेपाली बजारमा दर्जनौं नाम तथा ब्राण्डका हिटरहरु भित्रिएको बताउनुभएकाे छ।
उहाँका अनुसार अघिल्लो बर्षको तुलनामा यस वर्षको जाडोमा ५० प्रतिशत सम्मको व्यापार बढ्नसक्ने अनुमान छ । उहाँका अनुसार आधुनिक प्रविधियुक्त हिटरको व्यापार बढेपछि पुराना मोडल तथा प्रविधिमार्फत कोठा तताउने र न्यानो रहने चलनमा परिवर्तन आएको छ। अहिले बजारमा ग्यास तथा विजुलीबाट चलाउन मिल्ने हाइब्रिड किसिमका विभिन्न डिजाइनका हिटरहरु पाइन्छ भने खुला स्थानमा प्रयोग गर्न सकिने गार्डेन हिटर तथा तातो हावा फाल्ने फ्रयान हिटर समेत बजारमा उपलब्ध रहेको छ।
अहिले बजारमा ७ सयदेखि हजारौं मूल्य सम्मपर्ने हिटरहरु उपलब्ध छन् । नेपाली बजारमा भित्रिएका हिटरहरु धेरैजसो छिमेकी मुलुक चीन र भारतबाट आउने गर्दछ भने केही मात्रामा युरोपियन मुलुकहरुबाट समेत आयात भइरहेको छ।





प्रतिक्रिया दिनुहोस्