Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने पन्ध्र प्रतिशतले बढे


0
Shares

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या पन्ध्र प्रतिशतले सङ्ख्या बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ८३ हजार ६१० जनाले श्रम स्वीकृति लिएका हुन् । श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या गत आर्थिक वर्षकोभन्दा यसवर्ष ४२ हजार २७ ले बढी छन् ।

गत आर्थिक वर्षको सोही अवधीमा दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका थिए । यो आर्थिक वर्षमा सबैभन्दा बढी कात्तिकमा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका छन् । साउनमा ६८ हजार १ सय १०, भदौमा ६७ हजार ९ सय ७२ र असोजमा ६४ हजार ६ सय ३४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

श्रम गन्तव्य मुलुकबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको विभागले जनाएको छ । यसरी श्रम स्वीकृति लिएका हरुमध्ये सबैभन्दा बढी साउदी अरब जानेहरु छन् । यसवर्षमात्रै साउदी अरबका लागि १५ हजार ७६९ युवाले श्रम स्वीकृती लिएका छन् ।

तर नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि युएईले श्रमिक भिसामा कडाइ गरेसँगै कामदारको नयाँ माग आउन भने छोडेको बताईएको छ । विभागका अनुसार गत कात्तिकमा युएईका लागि १३ हजार ३९९, कतारका लागि १३ हजार ७३२ र मलेसियाका लागि नौ हजार ८७२ जनाले श्रम स्वीकृति लिएका छन् ।