Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


मतदाता नामावली दर्तामा उत्साह, दर्ता गर्नेकाे संख्या ८ लाख ३७ हजार नाघ्यो


0
Shares

काठमाडौं ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणासँगै सुरु भएको मतदाता नामावली दर्ता प्रक्रियामा उल्लेखनीय उत्साह देखिएको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म ८ लाख ३७ हजार ९४ मतदाताले नाम दर्ताका लागि निवेदन दिएका छन्।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सरकारले अध्यादेशमार्फत दर्ता प्रक्रिया सुरु गरेयता दर्ताको संख्या तीव्ररूपमा बढ्दै गएको छ।

भदौ २७ गते निर्वाचन घोषणा भएपछि गृह मन्त्रालयले कानुन संशोधनका लागि पहल गरेपछि सरकारले आयोगको सुझावअनुसार अध्यादेश जारी गरेको थियो। सो अध्यादेशले प्रतिनिधि सभा विघटन भई निर्वाचन मिति घोषणा भएको अवस्थामा तोकिएको अवधि भित्र मतदाता नामावली सङ्कलन, दर्ता तथा अद्यावधिक गर्ने व्यवस्था मिलाएको छ। प्रारम्भमा कात्तिक ३० गतेसम्म रहेको दर्ता समयसीमा सरकारले आग्रह गरेपछि मङ्सिर ५ गतेसम्म बढाइएको थियो।

आयोगको वेबपोर्टलमार्फत ३ लाख ४४ हजार ९१४ मतदाताले अनलाइन दर्ता गराएका छन्। तीमध्ये १ लाख ९२ हजार ८९० पुरुष, १ लाख ५१ हजार ९८० महिला र ४४ अन्य रहेका छन्। त्यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत ४ लाख ९२ हजार १८० नागरिकले दर्ता गराएका छन्, जसमा २ लाख ८० हजार ३६५ पुरुष, २ लाख ११ हजार ७९८ महिला तथा १७ अन्य छन्।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रविधिको उपयोग र विभागसँगको समन्वयले दर्ता प्रक्रिया सहज बनेको छ। राष्ट्रिय परिचयपत्र भएका नागरिकले बायोमेट्रिक नदिनै विभागमार्फत दर्ता गर्न पाउने व्यवस्था भएपछि एक सातामै करिब १ लाख ५० हजार बढीले दर्ता गरेका छन्।

कात्तिक १८ गतेसम्म १ करोड ८१ लाख ६८ हजार २३० रहेको कुल मतदाता संख्या मङ्सिर ५ सम्म अद्यावधिक हुँदा १ करोड ९० लाख ५ हजार ३२४ पुगेको आयोगले जनाएको छ। अन्य मतदाता संख्या पनि १८७ बाट २४८ पुगेको छ।

दर्तामा दोहोरिएका नामसमेत हुन सक्ने संभावना रहेको उल्लेख गर्दै आयुक्त भण्डारीले अद्यावधिकपछि मात्र वास्तविक तथ्यांक आउने बताए। आयोगले मङ्सिर २१ देखि २७ गतेसम्म दाबी–विरोध तथा संशोधनका निवेदन लिन आग्रह गरेको छ। सो प्रक्रियापछि छानबिन गरी पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने जनाएको छ।