काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण भएको बताएका छन् ।
शनिबार भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यो सरकार हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको भन्दै यसलाई संविधानले कुनै हालतमा उचित भन्न नसक्ने बताए । उनले भने, ‘हामी सबैलाई थाहा भएको कुरा हो, देशमा संविधान अनुसार नबनेको सरकार छ ।
संविधान मिचेर बनाएको सरकार छ । लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यो सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण गरिएको हिंसा, अशान्ति, आगजनि, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ । सरकारलाई संविधानले कुनै हालतमा उचित भन्न सक्दैँन् । यसको उत्पत्ति नै गलत बाटोबाट भएको छ ।’
यस्तै, कसैले अवैध र असंवैधानिक, अलोकतान्त्रिक तरिकाले, एकछिनका लागि सत्ता र सरकार कब्जा गरिहाल्यो भने पनि नेकपा एमालेले त्यसलाई छिटै अन्त्य गर्ने पनि उनको दाबी छ । उनले भने, ‘कसैले कुनै हिसाबले कुनै अवैध र असंवैधानिक, अलोकतान्त्रिक, असामाजिक तरिकाले यस देशमा कुनै गडबढी मचाएर एकछिनका लागि सत्ता कब्जा गरिहाल्यो, सरकार कब्जा गरिहाल्यो भने त्यस अवस्थालाई फेरि लोकतान्त्रिक अवस्थामा फर्काउने छौं ।
फेरि संवैधानिक बाटोमा फर्काउने छौ । मिचिएको संविधानलाई नमिचेको अवस्थामा फेरि फर्काउने छौ । अराजकताको राज धेरै लामो समयसम्म टिक्न सक्दैँन् । नेकपा एमालेले त्यसलाई छिटै अन्त्य गर्छ ।’ उनले आफूहरूले सामाजिक सञ्जाल नियमन गर्ने प्रयास गरिरहेको बेलामा जेनजीको नाममा युवाहरुलाई दुरुपयोग गरेर आन्दोलनको लागि उकासेको बताए ।
उनले भने, ‘संसारमा जेनजी नामको अस्वभाविक शब्द अगाडि सारिएको छ । यसरी जेनजीका नाममा युवाहरूलाई भ्रममा पर्ने र उनीहरूको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने काम भयो । भ्रष्टाचारको विरुद्ध हामी लडिरहेका थियौँ । सुशासन र विकासको पक्षमा हामी लडिरहेका थियौँ ।
देशमा प्रेस स्वतन्त्रताको पक्षमा हामी दृढ भएर उभिएका थियौं । हामीले हाम्रो देशको कानुन मानेर काम गरिरहेका थियौँ । त्यस्तो बेलामा युवाहरुलाई जेनजीका नाममा आन्दोलनको लागि उकासियो, हामीले त्यसको विरोध गरेनौ तर भदौ २३ गतेको आन्दोलनको पछाडि षड्यन्त्र लुकेको थियो ।
त्यसपछिको घटना सबै षडयन्त्र थियो र त्यही षडयन्त्रबाट देश पनि जल्यो ।’ नेकपा एमाले चुनाव लड्न, सरकारमा पुग्न, सांसद हुन, मन्त्री, प्रधानमन्त्री हुनको लागि बनाइएको नभई देश र जनताको लागि बनाइएको पार्टी भएको पनि उनको दाबी छ ।




प्रतिक्रिया दिनुहोस्