Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनशाय नै नभएकाे अध्यक्ष ओलीकाे दावी

कार्कीले कांग्रेस र एमाले जस्ता पार्टीलाई अपमान गरेको भन्दै आपत्ति प्रकट

416
Shares

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनशाय समेत नरहेको दावी गर्नुभएको छ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे।प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने समेत उहाँले जिकिर गर्नुभयो। अध्यक्ष ओलीले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख गर्दै त्यसै गरेर एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नुपरेको समेत बताउनुभएकाे छ। उहाँले १ सय २५ वटा पार्टीहरुसँग निर्वाचनका लागि वार्ता गरेको भनेर प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस र एमाले जस्ता पार्टीहरुलाई अपमान गरेको भन्दै आपत्ति जनाउनुभयो।

उहाँले भन्नुभयो,-‘म सम्माननीय राष्ट्रपतिजीलाई पनि भन्न चाहन्छु, प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु तपाई यतिबेला भएको कारणले निर्वाचन गराउनु हुन्छ भने खुरुखुरु गराउन हुन्छ भने गराउनुस । शान्तिपूर्ण वातावरण बनाउनुस, हतियार फिर्ता ल्याउनुस । अपराधीहरुलाई नियन्त्रणमा ल्याउनुस । निर्वाचनयोग्य वातावरण बनाउनुस । धेरै ब्याख्या गर्न चाहन्न । गराउनुस । त्यो तपाईले सक्नु हुन्न । तपाईको त्यो मनसाय पनि देखिदैन । तपाईले गरेको वार्ता कस्ता छन ? १ सय २५ वटा पार्टी बोलाएर वार्ता गरेको रे । यो एमाले र कांग्रेस जस्ता पार्टीहरुलाई अपमान गरेको हो यो १ सय २५ वटा पार्टीहरुसँग वार्ता गरेको भनेर । यो तमासा हो ।’

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसका कुनै पनि काम आफूहरुलाई मान्य नहुने बताउनुभयो।