काठमाडाैं। विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको छ।
तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो ।
सम्झौताअनुसार द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो । सम्झौतामा बेपत्ता पारिएका व्यक्तिहरू र मृत्यु भएकाहरूको वास्तविक नाम सहितको विवरण विस्तृत शान्ति सम्झौता भएको ६० दिन भित्र सार्वजनिक गरिसक्नुपर्ने भनिए पनि द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएकाहरू सबैको अवस्था बाहिर आउन सकेको छैन ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा १५ हजार भन्दा बढी नयाँ उजुरी दर्ता भएका छन् भने आयोगमा परेका उजुरी ८० हजार हाराहारी पुगेको छ । विस्तृत शान्ति सम्झौताको दुई दशक भइसक्दा पनि शान्ति प्रक्रिया टुंगिएको छैन ।




प्रतिक्रिया दिनुहोस्