Logo २ मंसिर २०८२, मंगलबार | Tue Nov 18 2025


काभ्रेमा जेनजी आन्दोलनका क्रममा आगजनी–तोडफोडमा संलग्न थप पाँच पक्राउ


130
Shares

काठमाडौं ।

जेनजी प्रदर्शनका क्रममा काभ्रे जिल्लाका विभिन्न सरकारी तथा निजी संरचनामा गरिएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धुलिखेल नगरपालिका–३ का २१ वर्षीय अजय तामाङ, खानीखोला गाउँपालिका–१ का २१ वर्षीय विशाल भोलन, बनेपा नगरपालिका–३ का २२ वर्षीय रविन्द्र परियार, वडा–८ का १९ वर्षीय अभि सुधाकार तथा दोलखाको जिरी नगरपालिका–१ का २७ वर्षीय भीम तामाङ पक्राउ परेका हुन्।

सुचना अधिकारी डिएसपी रविन विष्टका अनुसार भोलनविरुद्ध २०८१ मा लागुऔषध मुद्दा दर्ता भएको थियो भने सुधाकार २०७९ मा दर्ता भएको सवारी ज्यान मुद्दामा संलग्न थिए। पक्राउ परेकाहरूको म्याद थप गरी थप अनुसन्धान जारी छ।

यसअघि सोही आन्दोलनका क्रममा आगजनी र लुटपाटमा संलग्न १२ जनालाई पनि काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरिसकेको छ। आन्दोलनकालीन घटनामा संलग्नहरूको खोजी तथा उजुरीका आधारमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी कोमल शाहले बताए। उनका अनुसार जिल्लामा १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुगेको छ।

प्रहरीले तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई इलाका प्रहरी कार्यालय बनेपाबाटसमेत पक्राउ गरी कारबाही अघि बढाइरहेको जनाएको छ।

यसबाहेक जेनजी आन्दोलनकै समयमा विभिन्न कारागारबाट फरार भएका ५३ कैदीबन्दीलाई समेत प्रहरीले विभिन्न मितिमा समाती कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालयमा बुझाइसकेको छ।

चालु आर्थिक वर्षको चार महिनामा अदालतले फैसला कार्यान्वयनका लागि पठाएका करिब ६०० जनामध्ये ५३ जनालाई पक्राउ गरी १२ वर्ष ८ महिना ७ दिन कैद तथा दुई करोड ६७ लाख ५९ हजार ९०० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। हाल पनि पाँच सय ४३ जना कैदी तथा जरिवाना तोकिएका व्यक्ति फरार रहेको जनाइएको छ ।