Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


आगामी निर्वाचन अघि पार्टीको १५औं महाधिवेशन नगरिए पदबाट राजीनामा दिने महामन्त्री शर्माकाे चेतावनी


0
Shares

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन नभए पदबाट राजीनामा दिने चेतावनी दिनुभएकाे छ।

पार्टी सभापति शेरबहादुर देउवालाई आइतबार भेटेर महामन्त्री शर्माले यस्ताे चेतावनी दिनुभएकाे हाे।विधान अनुरूप विशेष महाधिवेशन माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई बेवास्ता गर्न नमिल्ने भन्दै निर्वाचन अघि महाधिवेशन नभए राजीनामा दिने उहाँले बताउनुभयाे। विधान अनुरूप गरिएको महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर विपरीत हुने गरी पार्टीले निर्णय गरे महामन्त्री पदबाट राजीनामा गर्ने महामन्त्री शर्माले सभापति देउवालाई जानकारी गराउनुभएकाे हाे।

विधानअनुरूप विशेष महाधिवेशन बाध्यकारी भएको शर्माले सभापति देउवालाई जानकारी गराएको स्रोतले जनाएकाे हाे। शर्माले त्यो जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराइसकेका बुझिएकाे छ। कांग्रेस विधानको धारा १७ (२०) मा केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यकता देखेर निर्णय गरेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेकाे छ।

विधानको यही धारा अन्तर्गत रहेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरेर कार्यवाहक सभापति खड्कालाई बुझाएका छन्। लिखित माग गरेको ३ महिनाभित्र बोलाउनुपर्ने व्यवस्था विधानमा भएकाले आगामी पुस मसान्तसम्म सकभर नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने नेताहरुले बताएका छन् ।