Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


आगामी मंसिर ९ गतेदेखि देशैभरी एकता सन्देश सभा गर्ने नेकपाकाे निर्णय

पार्टीलाई एक-ढिक्का बनाउने याेजना

377
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशैभरी एकता सन्देश सभा गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्वपदाधिकारीहरूको बैठकले आगामी मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको हाे। साेही पार्टीका नेता झलनाथ खनालले पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि अपिल प्रकाशित गर्ने पनि निर्णय भएको बताउनुभयाे। त्यस्तै, एकताको सन्दर्भमा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीलाई एक-ढिक्का बनाउने निर्णय भएको समेत उहाँकाे भनाइ छ।

अन्तर पार्टी निर्देशन जारी गर्दा एकता सन्देश कार्यक्रमको मोडालिटी समेत उल्लेख गरिने जानकारी दिंदै नेता खनालले एकता सन्देश सभाको ब्यानरमा कार्यक्रम गरिने बताउनुभएकाे छ। आफूहरूको एकता कसैको विरुद्ध नभई आम जनतालाई जागृत र सङ्गठित गर्दै समाजवादको बाटोको अर्जुनदृष्टिका साथ अघि बढ्ने यात्रा भएको उहाँले बताउनुभयाे । अशोक राई र उपेन्द्र यादवको पाटीसँग कुराकानी भइरहेको बताउदै उहाँले केही अवधिभित्र एकीकृत हुने विश्वास व्यक्त गर्नुभएकाे छ।

आफूहरूले बनाएको पार्टी सबै पुस्ताको पार्टी भएका कारण बुढाहरूको पार्टी भन्न नमिल्ने नेता खनालकाे दावी थियाे।