काठमाडौं । नेपाल सरकारले गैर-कानूनी ढंगले थाइल्याण्ड र म्यानमार लगायत देशमा पुगेर अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई फर्काउन थालेको छ।
नेपालीहरुलाई गैर-कानूनी ढंगबाट कम्बोडिया लाओस, म्यानमार-थाइल्याण्ड लगायत मुलुकमा पुर्याउने, बन्धक बनाएर अनलाइन जुवा र स्क्यामका काममा लगाउने गरेको पाइएको हाे। थाइल्याण्डस्थित नेपाली दूतावासले २ सय जना नेपालीलाई उद्धार गरेको छ। त्यसमध्ये १ सय ५० जनालाई थाइल्याण्ड र अरुलाई म्यानमारबाट उद्धार गरिएको हो। १ सय ५० जनालाई नेपाल फर्काइसकिएको छ। थाइल्याण्ड र म्यानमारबाट उद्धार गरिएका ३९ जना नेपालीलाई सरकारले आगामी मंसिर ३ गते नेपाल एयरलाइन्सबाट फर्काउने तयारी गरेको छ।
पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको देखिन्छ । राज्यको पहुँच नपुग्ने द्वन्द्वग्रस्त क्षेत्र र जंगलमा पुर्याएर उनीहरुलाई गैर-कानूनी काममा लगाउने गरेको पाइएको परराष्ट्र मन्त्रालय स्रोत जनाएकाे हाे।
नेपालीहरुलाई आकर्षण तलब सुविधाको प्रलोभन दिएर विभिन्न भिसाबाट थाइल्याण्ड लैजाने र त्यहाँबाट म्यानमारका विभिन्न ठाउँमा पुर्याउने गरिएको छ । त्यसरी थाइल्याण्ड पुगेका नेपालीहरुको पासपोर्ट तथा अन्य कागजात जफत गरी बन्धक बनाएर गैरकानुनी काममा लगाउने गरेको पाइएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी तथा तलब सुविधाको प्रलोभन देखाउँदै अधिकांश नेपालीलाई म्यानमार पुर्याइने गरिएको पाइएको छ। त्यहाँ लगेर अनलाइनबाट हुने जुवातास तथा ठगीको काममा लगाउने गरिएको मन्त्रालयले जनाएकाे हाे।




प्रतिक्रिया दिनुहोस्