Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका ४ जना राजदूतको राजीनामा स्वीकृत


1.1k
Shares


काठमाडाैं ।
सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका ४ जना राजदूतको राजीनामा स्वीकृत भएको छ।

सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत भएको हाे । जेनजी युवाकाे आन्दोलनपछि गठन भएको कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतहरूमध्ये ४ जनाले राजीनामा दिएका थिए। उनीहरूको राजीनामा परराष्ट्रमन्त्री समेत रहेकी प्रधानमन्त्री कार्कीले स्वीकृत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, कतारका रमेशचन्द्र पौडेल र बेलायतका चन्द्रकुमार घिमिरेले मन्त्रालयका सचिव अमृतबहादुर राईसमक्ष विभिन्न मितिमा राजीनामा दिएका थिए।

सचिव राईले उनीहरूको राजीनामा प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कार्कीसमक्ष पेश गर्नुभएकाे छ। सोही राजीनामा स्वीकृत भएको जनाइएको हाे। गत असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले यहि कात्तिक २० गतेभित्र नेपाल आइपुग्ने गरी विभिन्न देशमा रहेका ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको थियो ।