Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार, ३५ करोडभन्दा बढी उठ्ने अनुमान


1k
Shares

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि पहिलो संस्करणबराबरकै पुरस्कार वितरण गर्ने भएको छ।

एनपीएलको तयारी पूरा भएको क्यानले यस पटक प्रतियोगितालाई अझ उन्नत ढंगले सञ्चालन गर्ने दाबी गरेको छ। सोमबारदेखि सुरु हुने एनपीएलमा अधिकांश खेल फ्लडलाइटमा खेलाइनेछन्।

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

एनपीएलको दोस्रो संस्करणमा आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन्। उद्घाटन खेल पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच दिउँसो ४ बजे हुने तालिका रहेको छ।

गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेर उपाधि जितेको थियो। यस संस्करणबाट ३५ करोड रुपैयाँभन्दा बढी उठ्ने क्यानको अनुमान छ।

पत्रकार सम्मेलनमा बोल्दै सचिव पारस खड्काले १५ करोड ३० लाख प्रायोजकबाट, ९ करोड सहभागी टिमबाट उठ्ने, ओटिटी आम्दानीबाट ५ करोड ३० लाख कटाएर बाँकी रकमको ७१ प्रतिशत योगदान रहने तथा टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान गरिएको जानकारी दिए।