दीपक आचार्य-नविन सिंह
काठमाडाैं। मधेश प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट मुख्यमन्त्री बनेका जितेन्द्र सोनारले विश्वासको मत नपाउने भएपछि शुरु मधेश प्रदेशको राजनीतिक झन्-झन् जटिल बनेको छ।
तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले नेकपा एमालेका सरोज कुमार यादवलाई बर्दिवासको एक होटलमा ल्याएर मुख्यमन्त्री बनाउने र त्यहीं पद तथा गाेपनीयताकाे शपथग्रहण गराउने काम गरेपछि मधेशको राजनीति दुर्गन्धित हुन पुगेको हाे। एमाले बाहेकका सात दलले यादवलाई मुख्यमन्त्री स्वीकार्न सकेका छैनन भने उनीहरु सभामुख समेत हटाउने अभियानमा जुटेका छन् । जसका कारण मधेशको राजनीति झनै जटिल मोडमा पुगेको छ।
सोनालले मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त नगर्ने स्थिति बनेपछि २५ दिनमै पदबाट राजीनामा दिनुभएकाे थियाे। उनै सोनाल कामचालउ सरकारको मुख्यमन्त्री रहेकै समयमा नयाँ सरकार गठनको सूचना पनि जारी नगरि काठमाडौं हिडेको बताएकी तत्कालिन प्रदेश प्रमुख भण्डारीले एमालेका सरोज यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्ति गरेपछि मधेशमा राजनीतिक तनाव शुरु भयो । मुख्यमन्त्रीका लागि लिइएको यो निर्णयका विरुद्धमा अहिले सर्वोच्चमा मुद्दा विचाराधिन छ। त्यसपछि पनि मधेशमा राजनीतिक घटनाक्रमहरु रोकिएका छैनन् । त्यसमाथि सभामुख रामचन्द्र मण्डलले पदीय आचारण विरुद्ध काम गरेको भन्दै अन्य ७ दलका ७४ जना सांसदले मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन।
सांसदहरुले आफ्ना विरुद्धमा प्रस्ताव दर्ता गर्न पुगेपछि विहिवार प्रदेशसभा तनावग्रस्त बन्यो । आफूविरुद्धको प्रस्ताव आएपछि सभामुखले पाँच सांसद लगातार १० बैठकमा उपस्थित नभएको भन्दै सभामुखले पदमुक्तको सूचना जारि गरेपछि नयाँ विवाद थपिएको छ। विपक्षीमा रहेका ७ दलले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् भने पदमुक्तको सुचनापछि प्रदेशसभामा सदस्यहरुले हाजिर माग गरिरहेका छन् । समग्र राजनीतिक वातावरण नै धमिलो पार्ने गरि काम भइरहेको मधेश प्रदेशका पूर्वमुख्य न्यायाधीशवक्ता दिपेन्द्र झाले बताउनुभयाे।
मुख्यमन्त्री प्रक्रिया विरुद्ध सर्वोच्च पुगेका र सभामुखले पद अनुकूलको आचरण नगरेको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, जनता समाजवादी नेपाल, जनमत र तत्कालिन नेकपा माओवादी केन्द्र लगायतका दलले निरन्तर रुपमा त्यसको विपक्षीमा विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले सम्पूर्ण प्रक्रिया असंवैधानिक भएको भन्दै खारेजको माग गरिरहेकाे लोसपाका मधेश प्रदेशसभा सदस्य उपेन्द्र महतोले बताउनुभयाे।
तर एमालेका मधेश प्रदेशसभा सदस्य लखन दासले आफ्नै ब्याख्या र तर्क रहेको दावी गर्नुभएकाे छ। अहिले मधेशमा भइरहेको गतिविधि संघीयतालाई कमजोर गर्ने गरि भएको भन्दै त्यसको विरोध पनि भइरहेको छ । यसले एमालेलाई समेत राम्रो नगर्ने भन्दै नेतृत्व तहबाटै यो प्रक्रियालाई सहजीकरण गर्नुपर्ने सुझाव समेत पूर्वमुख्य न्यायाधीवक्ता झाको रहेकाे हाे।
गत भदाैमा भएको जेनजी आन्दोलन त्यसपछि विकसित परिस्थितिबाट देश अझै शान्त भइसकेको छैन । यस्तो परिस्थितिमा वातावरण सहज बनाएर अगाडि जानुपर्ने थियो। तर प्रमुख राजनीतिक दलहरुले नै जहाँ मौका मिल्छ त्यहींबाट देशलाई असान्त पार्नेगरि गरिरहेका गतिविधिले राजनीतिलाई थप जटिल र जोखिमपूर्ण बनाएको छ।
भिडियाे रिपोर्ट:




प्रतिक्रिया दिनुहोस्