Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


सामाजिक-आर्थिक रूपान्तरणको महाअभियानमा सहभागी हुन गतिशील पार्टीको आह्वान


117
Shares

काठमाडाैं। गतिशील लोकतान्त्रिक पार्टीले यहि कात्तिक २४ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेकाे जानकारी गराएकाे छ।

अब साेही पार्टीमा औपचारिक रूपमा सबैलाई सामाजिक-आर्थिक रूपान्तरणको महाअभियानमा सँगसँगै सहभागी हुन समेत आह्वान गरिएकाे हाे। पार्टीका अध्यक्ष डा. दिनेश प्रसाईले एक प्रेस विज्ञप्ति जारी गर्दै सबै नेपालीका वीर पुर्खाको दु:ख र श्रद्धेय शहीदहरूको बलिदानले नागरिकलाई अधिकार सम्पन्न बनाई जिम्मेवारी सुम्पिएको यो सुन्दर देश नेपाल अहिले एउटा गम्भीर अक्करमा रहेकाे समेत बताउनुभएकाे छ। अक्कर पार गरेर शिखरतर्फको यात्रामा अघि बढ्न सक्ने समेत उहाँकाे भनाइ थियाे। । नत्र हेर्दाहेर्दै देश अकल्पनीय विग्रहतर्फ मोडिने खतरामा रहेकाे जारी विज्ञप्तिमा भनिएकाे छ।

‘यस्तो समयमा देशबाट के लिने भन्दा पनि देशलाई के दिने भन्ने दूरदर्शी र गहिरा सोच राखेर सचेत नागरिकहरू संगठित हुनुको विकल्प छैन । हामीले पाएको यो सुन्दर नासो, भावी पुस्ताका लागि झन् सुन्दर बनाएर छोड्नुपर्ने जिम्मेवारी हामी सबैमा आएको छ । आउनुहोस्, हामी सबै मिलेर नेपालको सामाजिक-आर्थिक रूपान्तरणको एउटा महाअभियानको शुरुवात गरौं । दिगो रोजगारी कसरी सिर्जना हुन्छ ? कहाँकहाँ हुन्छ ? र अनवरत रुपमा कसरी थपिदै जान्छ ? गम्भिरतापूर्वक सोचौं । कोरा राजनीतिको मात्र कुरा नगरौँ । देशको मुहार फेरौं । हजार माइलको यात्रा पहिलो पाइलाबाटै शुरु हुने हो । गरे सकिन्छ, गरेरै छोडौं । देशलाई परेको बेलामा सकेको गर्नु हाम्रो बाध्यता र कर्तव्य दुवै भएकाे जारी विज्ञप्तिमा भनिएकाे छ।’

नयाँ पार्टी किन र कसको ?

आधुनिक समयमा, कैयौं कमजोरीका बाबजुद र लोकतन्त्र नै सबै भन्दा सभ्य र व्यावहारिक राज्य प्रणाली सावित भएको छ। लोकतन्त्रमा राजनीतिक पार्टीहरू अत्यन्त महत्वपूर्ण संस्था हुन् । यद्यपि हामीले गैरराजनीतिक तरिकाबाट पनि समाज र राष्ट्रलाई योगदान पुर्याउन सकिन्छ र पर्छ । नेपाली इतिहासको यो कालखण्डमा एउटा गतिलो राजनीतिक पार्टीको टड्कारो आवश्यकता महशुस गरेर हामीले गतिशील लोकतान्त्रिक पार्टी (छोटकरीमा गतिशील पार्टी) गठन गरेका छौं । आ-आफ्नो क्षेत्रबाट समाजमा योगदान पुर्याएका जिम्मेवार र स्वच्छ नागरिकहरूले जीवनको केही कालखण्ड सार्वजनिक नीतिनिर्माण र सेवामा समर्पित गर्दा समाज बस्न र गर्व गर्न लायक हुन्छ भन्ने गतिशील पार्टीको मान्यता छ।

पार्टीहरूको भीडमा अर्को पार्टी थपेर नेपाली समाज, सरकारी, गैर सरकारी संस्थारसंयन्त्र, पेशा, व्यवसाय, बजार, कला, साहित्य, संस्कृति, देश विदेश र यत्रतत्र सर्वत्र नेता कार्यकर्ताको थप बोझ सिर्जना गर्ने हाम्रो मनसाय छैन भन्ने हामी शुरुमै स्पष्ट पार्दछौँ । देश र समाजबाट लिन लालायित होइन दिन उत्साहित नागरिकहरू अघि सर्नुपर्छ । सबैले आ-आफ्नो पेशा-व्यवसायमा उत्कृष्ट काम गर्न, स्वार्थको द्वन्द्व कहीं कतै नहुने गरी केही समय राजनीतिमा योगदान पुर्याउनुहुन र पुन: आफ्नो पेशा-व्यवसाय र परिवार, समुदायमा फर्केर समाजमा अझ उच्च योगदान पुर्याउनुहुन हामी सबै सचेत नागरिकलाई आह्वान गर्दछौं ।

हामी विगत दुई वर्षदेखि नयाँ दल गठनबारे छलफल र प्रक्रियामा थियौं । राष्ट्रियदेखि सामुदायिक स्तरसम्म घनिभूत छलफल र अध्ययन गरेर, देशका विभिन्न भागमा आफ्ना योजना र एजेण्डा प्रस्तुत र परिष्कृत गर्दै २०८४ को निर्वाचनमा भाग लिने गरी योजना बनाई सोही बमोजिम तयारी गरेका थियौं । तन्नेरी पुस्ताको विद्रोह र निर्वाचन आयोगको समय पावन्दीका कारण हामीले सोचेभन्दा छिट्टै र फरक तरिकाले यो पार्टी दर्ता गर्नुपर्यो ।

तन्नेरी पुस्ताको विद्रोहबाट प्रकट भएका परिवर्तन, पारदर्शीता, जवाफदेहिता र दिगो रोजगारी जस्ता राष्ट्रिय आकांक्षालाई गतिशील लोकतान्त्रिक पार्टीले गम्भीरतापूर्वक लिएको छ। यी वैध मुद्दाहरूको सुनुवाइ गर्दै र समस्त नागरिक आवाजको सही तथा रचनात्मक सम्बोधन मार्फत मात्रै देशलाई अकल्पनीय विपद्तर्फ जानबाट जोगाउन सकिन्छ । गतिशील पार्टी सबै नेपालीको साझा संस्था हुनैपर्छ र हुनेछ । यो महाअभियान सबै उमेर, पेशा, व्यवसाय, लिङ्ग, धर्म, भूगोल र वर्ग सबैको हुनेछ ।

हामीसँग सकारात्मक सामाजिक-आर्थिक रूपान्तरण सहित बस्न योग्य र गर्व गर्न लायक राज्य संचालन गर्ने ज्ञान, सीप, क्षमता र योजना छन् । हामी वर्तमान र भविष्य निर्माणका लागि सान्दर्भिक राजनीतिक दल हौं । हाम्रो अपील आगामी निर्वाचनमा हामीलाई निर्वाचित गरेर सरकारमा पठाउनुस् भन्ने नै हो । तर यथेष्ट मतादेश नपाई अनेक तिगडम गरेर सरकारमा सहभागी हुने छैनौं भन्ने कुरा हामी निर्धक्क प्रतिज्ञा गर्दछौं । संघीय तथा प्रादेशिक तहका आम निर्वाचनमा करिब २०५ मत वा सिट नल्याई सरकारमा सामेल नहुने हाम्रो नीति छ । रचनात्मक प्रतिपक्ष हुन पाउनु नागरिकका दुस्खसुखसँग एकाकार हुन पाउनु हो । हामी नआत्तिई र नमात्तिई राजनीति गर्नेछौं ।

गतिशील लोकतन्त्र र राजनीति:

हामी लोकतन्त्रमा विश्वास गर्छौं । यो देश हरेक नागरिकको हो, नागरिकले नै चलाउने हो र नागरिकले नै बनाउने हो । लोकतन्त्र ल्याउन पुराना दलहरू र विभिन्न कालखण्डमा भएका आन्दोलनमा ज्यान आहुति दिने शहिदप्रति कृतज्ञ छौँ । लोकतन्त्र ल्याउन विभिन्न कालखण्डका आन्दोलनहरूमा प्राण आहुति दिने सहिदहरूप्रति तथा पुराना दलहरूप्रति हामी कृतज्ञ छौं । तर, ती पुराना पार्टीहरूले लोकतन्त्र ल्याउँदाका आदर्श र सपनाहरूलाई पार्टीतन्त्र हुँदै लुटतन्त्रमा परिणत गर्नुभयो।

लोकतन्त्र एक पटक ल्याएरू मात्र पुग्दैन, हरेक समय र हरेक पुस्ताको लागि अर्थपूर्ण बनाइराख्न लोकतन्त्र गतिशील हुनैपर्छ भन्ने हाम्रो विश्वास छ । जीवन्त समाजमा नयाँ सम्भावना र समस्या आइरहन्छन् र तिनलाई सम्बोधन गर्न आफूलाई गतिलो ठान्ने कुनै पनि राजनीतिक पार्टीले आफ्नो संरचना, संस्कार, नेतृत्व र एजेण्डा गतिशील बनाउनैपर्छ । यी सबै हिसाबले सर्वोत्कृष्ट पार्टी हुन हामी भरमग्दुर कोसिस गर्छौं । देशमा फरक विचार र एजेण्डा बोकेका अन्य गतिला पार्टीहरूसँग स्वच्छ, शान्त र शालीन सम्वाद-सहकार्य र प्रतिस्पर्धा गर्ने वातावरण बन्नैपर्छ ।

उद्देश्य, विधि र गतिशील मध्यमार्गी विचार:

राजनीतिक पार्टी साधन हो । बडो सोचविचार र जिम्मेवारीका साथ नेपाललाई सम्वृद्ध, समतामूलक र स्वाभिमान राष्ट्र बनाउन हामीले हाम्रा साध्य तय गरेका छौं । यसको लागि उपयुक्त विधि, सुशासन, उद्यमशीलता र समावेशिता हुन् भन्ने हाम्रो विश्वास छ । विश्व इतिहासको अध्ययन र नेपालका हाम्रै अनुभव र आवश्यकताको आधारमा हामीले हाम्रो विचारधारा तय गरेका छौं। राजनीतिक रूपमा प्रगतिशील र उदारवादी विचारका उपयुक्त आदर्श र व्यावहारिक पक्षलाई सदुपयोग गर्ने गतिशील मध्यमार्गी विचार नेपालका लागि उपयुक्त हुन्छ भन्ने हाम्रो निष्कर्ष छ । हामी शान्तिपूर्ण, सम्वादमूलक र समस्याको समाधानमुखी राजनीतिक संस्कृतिलाई बढावा दिन्छौं । देशभित्र र बाहिर जहाँ रहेका भए पनि सबै नेपालीले स्वाभिमानका साथ शिर ठाडो पारेर जिउन सक्ने वातावरण बनाउनु हाम्रो अभिभारा हो । त्यसका लागि हामीले आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक सबै विधाहरूमा प्रगति गर्नुपर्नेछ।

आर्थिक नीति र सार्वजनिक सेवा:

गतिशील पार्टीले अँगाल्ने सहज आर्थिक नीति नियमन तथा उपयुक्त प्रोत्साहन प्रदान गरिएको प्रतिस्पर्धी बजार अर्थतन्त्रमा आधारित रहनेछ । यसले उद्यमी तथा आम उपभोक्ता दुवैका हितलाई ध्यान दिनेछ । सार्वजनिक सेवा प्रवाह गर्ने निजामती प्रशासन, न्याय सेवा दिने न्याय प्रशासन तथा जनतालाई सुरक्षा दिने सुरक्षा निकायहरूलाई सबल, सक्षम, छरितो र समावेशी बनाई उनीहरूबाट अपेक्षित सेवालाई गुणस्तरीय बढाउने लक्ष्य लिएका छौँ । शिक्षा, स्वास्थ्य जस्ता मानव संसाधन विकासमा अत्यावश्यक पर्ने क्षेत्रलाई गुणस्तरीय बनाउने कुरालाई प्राथमिकतामा राख्न त्यस सम्बन्धी विद्यमान संरचना र सोचमा रूपान्तरणको खाँचो छ ।

अहिलेको वित्तीय स्थितिलाई ख्याल गर्दा ती शीर्षकहरूमा चाहिने लगानी सुनिश्चितता गर्न उद्यमशीलता प्रवर्द्धन गर्नु महत्वपूर्ण हुने पार्टीले जनाएकाे हाे।