काठमाडाैं । नेपालको महिला राष्ट्रिय क्रिकेट टोली भारतको राजस्थानसँग पराजित भएको छ।
बिहीबार भएको सिरिजको पहिलो खेलमै नेपाल राजस्थानसँग ५६ रनले पराजित भएको हो। देहरादुनको आयुस क्रिकेट एकेडेमीमा राजस्तानले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम ४ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै ८८ रनमा समेटिएको हो । नेपालकी ओपनर सना प्रभिनले सर्वाधिक ३१ रन बनाउँदा रुविना क्षेत्री १७ र बिन्दु रावल १२ रनमा आउट भएका थिए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । नेपालकी लक्ष्मी साउदले २ विकेट लिइन् । कविता कुँवर, मनीषा उपाध्याय र रुविनाले समान समान १ विकेट लिएका थिए । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा जारी श्रृंखला आगामी मंसिर ३ गतेसम्म हुने भएकाे छ । खेलका लागि नेपालको टिम मंगलबार भारत गएको थियो । नेपाली महिला टोलीले भारतको राजस्थानसंगै पश्चिमबंगाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको छ।
विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो।




प्रतिक्रिया दिनुहोस्