काठमाडाैं। देशको एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम धरासायी बनेको छ।
नेपाल वायु सेवा निगमसँगै खुलेका अन्तर्राष्ट्रिय विमान कम्पनी मात्रै होइन र आन्तरिक उडान मात्रै गर्ने नेपालकै निजी क्षेत्रका वायु सेवा कम्पनीहरुले समेत लोभ लाग्दो प्रगति गर्दा सरकारी स्वामित्वको वायु सेवा कम्पनी भने दैनिक रुपमा थला पर्दै गएको छ ।
नेपाल वायुसेवा निगमले हाल आन्तरिक र अन्तर्राष्ट्रिय गरी कुल ३६ वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ। पछिल्लो समय त निगम अन्तर्राष्ट्रिय उडानमा झन् झन् खुम्चिंदै आएको छ भने आन्तरिकतर्फको उडान पनि नियमित नहुँदा निगमले सर्वसाधारणको विश्वास समेत गुमाउँदै गएको छ । सन् २०१५ अगाडि २ अर्ब घाटामा रहेको निगम कोभिडको समयमा चरम घाटामा गएको थियो ।
करिब १० अर्ब बढी घाटामा गएको निगमले विमान किन्दा लिएको ऋण लगायतको किस्ता तिर्न अझै सकेको छैन । सञ्चयकोष र नागरिक लगानीकोषको ऋण तिर्न बाँकी नै छ। यो आर्थिक वर्षको अडिट नभइसकेका कारण गत आर्थिक वर्षसम्मको तथ्यांक हेर्दा निगम अझै १७ अर्ब बढी घाटामा देखिएको निगमका प्रवक्ता अनिल घिमिरेले बताउनुभयाे।
नेपालको वायुसेवाको क्षेत्रमा निजी कम्पनीहरु आएर प्रतिस्पर्धा हुन थालेपछि सरकारी स्वामित्वको निगमले कम महत्व पाउन थालेको पूर्वगभर्नर एवं वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिका संयोजक दिपेन्द्रबहादुर क्षेत्रीले बताउनुभयाे। उहाँका अनुसार कतिपय ठाउमा सरकारले प्रयोग गरे बापतको तिर्नुपर्नै लागत नतिरेको र सरकारी कर्मचारीकै कारण निगम यो अवस्थामा पुगेको हो ।
नेपाली नागरिकलाई प्रतिष्पर्धी मूल्यमा हवाइ यात्रा गराउन मात्रै होइन, विश्वका विभिन्न गन्तब्यमा पुगेर विदेशी पर्यटक भित्र्याउन पनि वायुसेवा निगमको महत्वपूर्ण भूमिका हुनुपर्ने हो । तर अर्बाैं नोक्सानीमा रहेको निगमलाई त्यो जिम्मेवारी पूरा गर्न विमानको पनि अभाव रहेको छ । पुराना विमानको ऋणको किस्ता नै तिर्न नसकेको निगमलाईमाथि उकास्न सक्षम नेतृत्व यति बेला खड्किएको प्रवक्ता घिमिरेले बताउनुभयाे।
वायु सेवा निगमसंग हाल अन्तर्राष्ट्रिय उडानका लागि चार वटा विमान छन् । त्यसमध्ये २ वटा न्यारोबडी र वटा वाइडबडी हुन् । यत्तिकै भरमा निगम तंग्रिन सक्ने अवस्था भने रहँदैन। निगमलाई राजनीतिक हस्तक्षेप र दोहनको चक्रबाट मुक्त गर्न ढिला गर्न नहुनेमा पूर्वगभर्नर क्षेत्रीकाे सुझाव छ।
कुनै समय युरोपका थुप्रै शहरदेखि दक्षिण पूर्वीएशियाका प्रमुख गन्तब्यहरुमा पुग्ने र देशभित्र पनि लगभग जिल्लैपिच्छेका विमानस्थलमा पुगेर सेवा दिएको नेपाल वायु सेवा निगमको पुरानो साख फर्काउने ठूलो मेहनतको आवश्यकता छ। तर असम्भव भने छैन ।
भिडियाे रिपोर्ट:




प्रतिक्रिया दिनुहोस्