Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


नयाँ-प्रहरी महानिरीक्षक कार्कीमाथि चुनौतीका चाङ (भिडियाे रिपोर्ट)


234
Shares

काठमाडाैं । करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीको नेतृत्व दानबहादुर कार्कीले सम्हाल्नु भएको छ।

विगतमा भन्दा फरक तरिकाले यस पटक कुनै विवाद नभई कार्की वरियताका आधारमै महानिरीक्षक बन्न पाउनु भएको हो । तर नवनियुक्त महानिरीक्षक कार्कीका लागि आईजीपी बनेर नियमित काम मात्रै गर्ने छुट पनि छैन । गत भदौको जेनजी युवाकाे आन्दोलनपछि प्रहरी संगठन लगभग क्षत-विक्षत अवस्थाबाट गुज्रिएको छ। संगठनको मनोबल उठाउनु महानिरीक्षक कार्कीको पहिलो काम हुनेछ भने लुटिएका हतियार सबै फिर्ता नभइसकेको तथा जेलबाट भागेका कैदीहरु पनि सबै नफर्किसकेको अवस्थामा संसदीय चुनावको अग्रमोर्चामा पनि प्रहरी खट्नुपर्ने दायित्व छ।

करिब ८० हजार प्रहरी संगठनको कमाण्ड बिहीबारदेखि महानिरीक्षक कार्कीले सम्हाल्नु भएको छ। बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्याक्रमकाबीच प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्न लगाउँदै मुलुकको शान्ति-सुरक्षाको पहिलो घेरमा रहने संगठनको कामाण्ड कार्कीले सम्हाल्नुभएको हो । ३४औं प्रहरी महानिरीक्षकको रुपमा संगठनको नेतृत्व गर्न थाल्नुभएका कार्कीका लागि आगामी २९ महिना त्यति सहज भने छैनन् । विशेष गरेर जेनजी आन्दोलनको दोस्रो दिन अर्थात गत भदौ २४ गते उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्नुभएका कार्कीले आन्दोलनका क्रममा प्रहरीमाथि भएको प्रहार, त्यसले प्रहरी संगठन र प्रहरी कर्मचारीको मनोबलमा पुर्याएको क्षति लगायतका विषय प्रत्यक्ष देख्नुभएको छ।

आन्दोलनका क्रममा मारिएका जवानहरुको मात्रै होइन दैनिक काम गर्नु पर्ने कार्यालय तथा हतियार समेत लुटिएका सबै घटनाको प्रत्यक्ष साक्षि बन्नु भएका कार्कीले आगामी दिनमा संगठनलाई कसरी नेतृत्व दिनुहुन्छ भन्ने निकै चुनौतीपूर्ण छ । अन्तरिम सरकारले कुनै हस्तक्षेप नगरी बरियताकै आधारमा कार्कीलाई कमाण्ड सु्म्पिएको छ। तर कार्कीले जुन जिम्मेवारी कुनै विवाद विना प्राप्त गर्नुभएको छ। त्यसको जाँच भने संगठनभित्रका जवानको मनोवल र आत्मासम्मान तथा परिचालनमा कार्कीले देखाउने कौशलबाट हुने भएकाे हाे। बिहीबार दर्ज्यानी चिन्न लगाउने क्रममा मारिएका प्रहरीलाई सम्झि्दा भक्कानिएका कार्कीले आगानी निर्वाचनका लागि संगठनलाई तयार पार्ने प्रतिवद्धता जनाउनुभएको छ।

आधुनिक प्रविधिसँग जोडिएका आपराधले चुनौती थपिरहेकै बेला मुलुकभित्र देखिएको राजनीतिक अस्थिरताले सबै भन्दा जटिल परिस्थिति सुरक्षामै ल्याइरहेको छ। नेपाल प्रहरी सबै सुरक्षाका लागि सबै भन्दा अग्रपंक्तिमा खटिने संगठन हो । आमनागरिकको दैनिक शान्ति-सुरक्षा, विभिन्न थरीका आन्दोलन, उन्नत प्रविधिसंग जोडिएका अपराध नियन्त्रण र भदौ २४ गते लुटिएका हतियार फिर्ता गराउने लगायतका काम उत्तिकै चुनौतीपूर्ण रहेका छन् । दर्ज्यानी चिन्ह प्रदान गर्ने क्रममा गृहसचिव रामेश्वर दंगालले पनि आगामी निर्वाचनमा केन्द्रित रहेर संगठन र सरकारकोहित अनुसार काम गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रहरी संगठन इतिहासमै निरुत्साहित भएको समयमा कमाण्ड सम्हाल्न आउनुभएका महानिरीक्षक कार्कीका लागि संगठन र देशका लागि उदाहरणीय काम गरेर देखाउने अवसर समय दुवै प्राप्त छ। ईमेज टेलिभिजन परिवारकाे तर्फबाट महानिरीक्षक कार्कीलाई बधाई एवं सफल कार्यकालकाे शुभकामना छ।

भिडियाे रिपोर्ट: