Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध मुद्दाको फैसला नोभेम्बर १७ मा सुनाउने


429
Shares

एजेन्सी । बंगलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवताविरुद्धको अपराध सम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला यहि नोभेम्बर १७ तारिखमा सुनाउने भएका छन् ।

मुख्य अभियोजक ताजुल इस्लामले बिहीबार संचारकर्मीलाई जानकारी गराउँदै अदालतले साेहि मितिमा अन्तिम निर्णय सुनाउने तयारी गरेको बताएका हुन्। ७८ वर्षीया हसिनामाथि विद्यार्थी नेतृत्वको आन्दोलनलाई दबाउने क्रममा घातक दमन गर्ने आदेश दिएको आरोप लागेको छ। हसिनाले भारतमा रहेर अदालतको उपस्थितिका लागि गरिएको आदेशको पालना गर्न अस्वीकार गरेकी हुन् ।

मुख्य अभियोजक इस्लामले कानूनअनुसार न्याय हुने बताएका छन् । लामो यात्रापछि अन्तिम चरणमा पुगेकाे र अदालतले १७ तारिखमा फैसला सुनाउने उनकाे भनाइ थियाे। गत जुन १ तारिखदेखि अनुपस्थित अवस्थामा शुरु गरिएको मुद्दामा अदालतले हसिनामाथि सामूहिक हत्या गर्ने आदेश दिएको आरोपमा विस्तृत गवाही सुनाएको थियो । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार सन् २०२४ को जुलाईदेखि अगस्टसम्म हसिना सत्तामा रहँदा भएको विद्रोहका क्रममा करिब १ हजार ४ सय जनाको ज्यान गएको थियो ।

अभियोजन पक्षले हत्या रोक्न असफल हुनु, सामूहिक हिंसामा संलग्नता र मानवता विरुद्धका अपराधलगायत ५ वटा मुख्य आरोप दर्ता गरेको हाे। यदि दोषी ठहर भएमा भने हसिनालाई मृत्युदण्डको सजाय समेत माग गरिएको छ।