Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


जेनजी आन्दोलन: ५ हजार कैदी अझै फरार: गृहमन्त्री अर्याल

फरार कैदीकाे खोजतलासका लागि कार्यदल गठन

221
Shares

काठमाडाैं । गृह मन्त्रालयले जेनजी युवाकाे आन्दोलनका क्रममा गत भदौ २४ गते फरार भएका कैदीबन्दीहरुमध्ये अझै ५ हजार १३ जना फरार रहेको जनाएको छ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार जेनजी आन्दोलनको क्रममा १४ हजार ५ सय ५४ जना भागेकोमा ९ हजार ४ सय ४१ जनालाई फिर्ता ल्याइएको छ। उहाँले देशभरका कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहको समेत बताउनुभयो । फरार कैदीहरुको सूची सार्वजनिक गरी सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा नदिन सबै निकायमा पत्राचार गरिएको समेत उहाँले जानकारी गराउनुभयो ।

फरार कैदीको खोजतलासका लागि सबै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको र सुरक्षातहमा विशेष अपरेसन समेत जारी रहेको उहाँकाे भनाइ छ। उहाँले फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताउँदै सरकार ती चुनौती परास्त गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको समेत मन्त्री अर्यालले बताउनुभयो।

मन्त्री अर्यालले जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्रसहित नि:शुल्क उपचारको व्यवस्था मिलाइएको समेत बताउनुभयो । विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार उपलब्ध गराउने विषयमा सरकार आवश्यक गृहकार्यमा लागेको समेत जानकारी गराउनुभएकाे छ।