काठमाडौं ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बनाएको नीतिगत अवरोधका कारण जलविद्युत आयोजनाहरू निर्माणमा समस्या भएको बताउनुभएको छ ।
राधजानीमा हिजो पत्रकार सम्मेलन गरी उहाँले १० महिनादखि रुख काट्नका लागि वनमा छिर्न नपाइएको गुनासो गर्नुभयो । २०७७ सालमै आयोजना सम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न भएपनि अहिलेसम्म रुख काट्न र आयोजना क्षेत्रमा प्रवेश गर्न नपाइएको भन्दै कार्कीले यस्तो अवस्थामा कसरी उत्पादन गर्ने ? भन्दै प्रश्न गर्नुभयो ।
सरकारले उत्पादकहरूसँग निर्धारित समयभित्र बिजुली उत्पादन नगरे सम्झौता रद्ध गर्नेगरी सम्झौता गरेकाले तोकिएको समयमा उत्पादन नभए किन्दिन भन्ने गरेको उहाँको गुनासो थियो । कार्कीले ऊर्जामन्त्री तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसँग पनि समस्या समाधानका लागि पटक–पटक छलफल भएको पनि जानकारी दिनुभयो ।
आरसियुडीका मुद्दाहरुहरूमा दुई वर्षको समय थप गर्न अनुरोध गरेकोमा तीन वर्षभन्दा बढी भइसक्दा पनि नीतिमा पनि सुधार नहुादा लगानीकर्ता अन्योलमा परेको उहाँको भनाई छ ।
जलविद्युत आयोजनाका लगानीकर्ताले ३०–३५ वर्षको लगानीमा स्थायित्व चाहने भन्दै कार्कीले नेपाली लगानीकर्ता नै अन्योलमा हुँदा विदेशी लगानीकर्ताले नेपालमा कसरी लगानी गर्छन् ? भन्नुभयो । उहाँले सरकारले लगानीकर्तालाई मनोबल उठाउने खालको काम गर्नुपर्नेमा जोड दिनुभयो । बिजुली खपत बढाउन र ट्रान्समिसन लाइन बनाउन सरकारले ध्यान दिनुपर्ने पनि कार्कीले उल्लेख गर्नुभयो ।




प्रतिक्रिया दिनुहोस्