काठमाडौं ।
बुधबार सक्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै लम्बिने संकेत देखिएको छ । बुधबार पनि कांग्रेसका शीर्ष नेताहहरुले केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राखेका थिए ।
बैठकमा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकले महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेका महाधिवेशनसम्बन्धी कार्यतालिकालाई मिलाएर १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने बताउनुभयो ।
लेखकले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गर्नुपर्ने बताउनुभयो । लेखकले संसद् पुनस्र्थापनालाई भन्दा प्रतिनिधिसभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । बैठकमा बोल्दै डा. शशांक कोइरालाले मुलुकको लोकतान्त्रिक प्रक्रियामा बचाउने एक मात्र विकल्प सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचन भएको बताउनुभयो ।
पार्टीलाई आन्तरिक द्वन्द्वमा नअल्झिई सर्वसम्मत रूपमा निर्वाचनमा जाने निर्णय गर्न उहाँले आग्रह गर्नुभयो । कोइरालाले विशेष महाधिवेशनको बहसलाई थाँती राखेर निर्वाचनको वातावरण बनाउन सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न कोइरालाले माग गर्नुभयो । बैठकमा बोल्ने अन्य सदस्यहरुले पनि पार्टीको महाधिवेशन निर्वाचन अगाडी नै गर्नुपर्ने माग गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्