Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


राज्यले टिकापुर विद्रोहलाई मात्रै अपराधिक बनायोः संरक्षक चौधरी


156
Shares

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा, नेपाल) का संरक्षक रेशमलाल चौधरीले देशका सबै आन्दोलनहरूलाई सरकारले राजनीतिक रूपमा हेरेपनि टिकापुर आन्दोलनलाई भने अपराधको रूप दिएको आरोप लगाउनुभएको छ।

निर्वाचन आयोगले बुधबार नाउपा, नेपाललाई दल दर्ताको प्रमाणपत्र दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो। राज्यले हालै भएको आन्दोलनलाई पनि राज्यले राजनीतिक बनाएको उहाँले बताउनुभयो। जेनजी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकमी दुवै मारिएको उल्लेख गर्दै उहाँले त्यस आन्दोलनलाई पनि राजनीतिक रूपमा सम्बोधन गरिएको बताउनुभएकाे छ। तर टिकापुर विद्रोहलाई राज्यले अपराधको रूपमा लिएको उहाँको भनाइ थियाे।

संरक्षक चौधरीले यो नै निरकुंशताको प्रतिक भएको बताउनुभएकाे छ। नेपालमा रहेको विभेद, अन्याय र राज्यको निरकुंश व्यवहारविरुद्ध आफूहरु लाग्ने उहाँले बताउनुभयो। टिकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा मान्यता दिन र सो आन्दोलनमा संलग्न सबै कैदी र फरार अभियुक्तहरूको मुद्दा फिर्ता गर्न माग गर्नुभएकाे छ। उहाँका अनुसार सो घटनामा संलग्न करिब ३० जना अझै पनि फरारको सूचीमा छन् भने तीन सय भन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गरिएको छ । उहाँले राज्यले आफूहरुमाथि गरेको अन्याय, दमन र विभेदको माफी माग्नुपर्ने बताउनुभयो। टिकापुर घटनाका सबै राजबन्दीलाई तुरुन्त रिहा गर्नुपर्नेमा उहाँकाे जाेड छ। उहाँले आफ्नो पार्टीले देशभरका सबै उत्पीडित वर्गको आवाज बोक्ने बताउनुभयो।

संरक्षक चौधरीले आगामी निर्वाचनमा नाउपा, नेपालले कमैया, दलित, मुक्तकमलरी, सुनार, जनजाती- मुस्लिमका युवाहरु र एकल महिलाहरुलाई संसदमा पुर्याउने बताउनुभयो। आफ्नो पार्टीको सिद्धान्त समुदायमा आधारित समाजवाद हुने उहाँको भनाइ छ।

Skip This