काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानबीच ७ बुँदे सहमति भएको छ।
नेपाली कम्युनिष्ट पार्टीकाे केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार आयोजित एक कार्यक्रमबीच सहमति सम्झौतामा हस्ताक्षर भएको हो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलबीच साेही सम्झौता भएको छ। राष्ट्रिय स्वाधिनता, अखण्डता-स्वाभिमानको रक्षा तथा देशलाई सबल, जनतालाई समृद्ध तुल्याउनुपर्ने चुनौती रहेको, देश-जनताको सर्वोपरीहित एवं सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रुपान्तरणको अभिभारा आफूहरुसँग रहेको सम्झौतापत्रमा उल्लेख गरिएकाे छ।
नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालकाबीच देशभक्ति तथा समाजवादको आदर्शयुक्त सशक्त-सुदृढ पार्टी निर्माण गर्दै नेपाल-नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप-दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने उद्देश्यले सहमति भएको बताइएको छ।
त्यस्तै, समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक–सामाजिक रुपान्तरण-समृद्धिको लागि कटिवद्ध रहने, आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, महाधिवेशनको मिति-स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने, सबै तहमा र मातृभूमि जागरण अभियान र नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने समझदारी भएको छ।
नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियानका संयोजक डा. रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने, पार्टी विधान, राजनीतिक प्रतिवेदन, कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने, पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने। सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने बताइएको छ ।
सहमति पत्रमा पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने समझदारी भएको छ।




प्रतिक्रिया दिनुहोस्