Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


जेनजी आन्दोलनमा भएका घाइतेहरूको वर्गीकरण गर्न गृहको परिपत्र


0
Shares

काठमाडौं ।

सरकारले जेनजी आन्दोलनका क्रममा भएका घाइतेहरूको वर्गीकरण प्रक्रिया शुरू गरेको छ ।

गृह मन्त्रालयले हिजो देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यथाशीघ्र घाइतेहरूको आधिकारिक वर्गीकरण गरी विवरण पठाउन निर्देशन दिएको हो ।

गृह मन्त्रालयको राहत तथा तथ्याङ्क व्यवस्थापन शाखाले गरेको परिपत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयन गर्न निर्देशन दिइएको छ । परिपत्रमा जिल्लास्तरीय वर्गीकरण सहजीकरण समिति गठन गरी सात दिनको सार्वजनिक सूचना निकालेर गरेर घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरणको काम तत्काल सम्पन्न गर्न भनिएको छ ।

गृह सचिवस्तरीय निर्णयअनुसार यसअघि नै ‘जेनजी घाइते परिचयपत्र’ प्राप्त गरिसकेका व्यक्तिहरूले आफूलाई पायक पर्ने जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट वर्गीकरण प्रक्रियामा सामेल हुन सक्ने व्यवस्था मिलाइएको छ ।

वर्गीकरण सम्पन्न भएपछि जिल्ला समितिहरूले त्यसको विवरण स्वास्थ्य मन्त्रालयमा रहेको जेनजी प्रदर्शन घाइतेहरूको प्राविधिक समितिमा पठाउनुपर्ने र त्यसको जानकारी गृह मन्त्रालयलाई पनि दिनुपर्ने जनाईएको छ ।