Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


मतदाता नामावलीको म्याद थप्न पत्र


0
Shares

काठमडौं ।

मतदाता नामावली संकलनको म्याद सकिन एक साता बाँकी रहँदा प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनको अवस्थाप्रति चासो ब्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई मतदाता नामावली संकलनको म्याद पुनरवलोकन गर्न आग्रह गर्दै पत्र पठाउनुभएको हो ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएको छ । त्यसका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न यही कात्तिक ३० गतेसम्मको समय तोकिएको छ ।

मतदाता नामावली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेको तथ्यांकलाई मतदाता नामावली दर्ताका लागि प्रयोग गर्न मिल्ने गरी आवश्यक प्राविधिक एवम् कानुनी प्रक्रिया अगाडि बढाउन पनि पत्रमा उल्लेख गरिएको छ ।

मतदाता नामावली दर्ता कार्यमा जनशक्ति व्यवस्थापनका कारण दर्ता गर्न आउने सेवाग्राहीले लामो समय कुर्नु परेको, प्रि–इनरोलमेन्ट फारममा मतदान केन्द्र छनोट गर्न नसकेको, नागरिकता नम्बर प्रविष्ट गरे पनि नामावली दर्ता गर्न प्राविधिक समस्या आउने गरेको गुनासो आएका थिए ।

यस्तै जेनजी आन्दोलनका सहिद तथा घाइते परिवार र अशक्त व्यक्तिलाई दर्ता गराउन असहज भएको जस्ता गुनासो आइरहेकोले पुनरवलोकन गर्न आयोगलाई पत्र पठाइएको हो ।