Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


आफ्नै दबाबमा प्रदेश प्रमुख भण्डारीले होटलमा शपथग्रहण गराएकाे मुख्यमन्त्री यादवको स्वीकारोक्ति


806
Shares

काठमाडाैं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासस्थित होटलमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराएको स्पष्टिकरण दिनुभएको छ।

नवनियुक्त मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो स्पष्टिकरण दिनुभएको हो । आफूलाई नियुक्ति पत्र दिइएको तर शपथ ग्रहण नगराई प्रदेश प्रमुख सुवेदी काठमाडौं जान लागेको जानकारी पाएपछि आफूले जसरी भएपनि शपथ ग्रहण गराउन दबाब दिएकाे उहाँको स्वीकारोक्ति छ। उहाँले लोसपा लगायत केही पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई शपथ लिन नदिने जानकारी पाएपछि सुरक्षित स्थानमा शपथ ग्रहण गर्नुपरेको यादवको भनाइ छ।

ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता यादवलाई यहि कात्तिक २४ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो।मुख्यमन्त्री यादवले प्रदेशमा उत्पन्न राजनीतिक अवस्था मधेश र मुलुकको लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चुनौतीका रुपमा खडा भएको पनि बताउनुभयो । उहाँले सरकारलाई सहयोग गर्नको लागि सहयोग गर्न सबै राजनीतिक दलहरुलाई आह्वान समेत गर्नुभएकाे छ।

मुख्यमन्त्री यादवको नियुक्ति र शपथ विवादमा परेपछि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र यादवले प्रदेश प्रमुख सुवेदीलाई पदमुक्त गर्नुभएको छ।