Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टको माग (विज्ञप्तिसहित)


3.7k
Shares

काठमाडाैं । जेनजी मुभमेन्ट नेपालले उर्जा, जलस्राेत तथा सिंचाईमन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

जेनजी नेपालका प्रवक्ता विजय साहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै बर्खास्तीको माग गर्नुभएकाे हाे। प्रवक्ता साहले ऊर्जामन्त्री घिसिङ र प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्शानी हुनेगरी गैरकानूनी विद्युत खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधिनतामाथि खुलेआम प्रहार गरिएको उल्लेख गर्नुभयाे ।

साेही सम्झौता मन्त्री घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक सिलवालको मिलेमतोमा, विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको विज्ञप्तिमा उल्लेख छ। जेनजी मुभमेन्टका अनुसार यो कार्य सिधा–सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो। आफ्ना मागहरु राख्दै जेनजी मुभमेन्टले ऊर्जामन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्ने बताएकाे छ।

‘प्राधिकरणका प्रवन्ध निर्देशक सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत सम्झौताहरू सार्वजनिक गर्नुपर्छ जारी विज्ञप्तिमा भनिएकाे छ।’

जेनजी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पत्ति फिर्ता गराउन कानूनी प्रक्रिया तत्काल शुरु गर्न समेत माग गरिएकाे छ।