काभ्रेपलाञ्चोक, असोज ६ । सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना–प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आपराधिक गतिविधि रोक्न सरकार कठोर तरिकाले लाग्ने बताएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–३ स्थित सर्वमंगला बहुमुखी क्याम्पसको वार्षिकोत्सवलाई शनिबार सम्बोधन गर्दै स्वतन्त्रताका नाममा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सरकारले हरसम्भव उपाय अवलम्बन गर्दै निर्ममसम्म हुने बताए ।
उनले भने–‘स्वतन्त्रताका नाममा अश्लिलता झल्काउनु आपराधिक गतिविधि हो । यो कुनै प्रकारले स्वीकार्य हुन्न । यसविरुद्ध हामी कठोर हुन्छौं ।’
मन्त्री बाँस्कोटाले ‘लोकतन्त्र’ हो भन्दै ‘स्वतन्त्रताका नाममा अश्लील क्रियाकलाप दर्शाउनु समाज विखन्डनको कारक बन्ने भएकाले यसविरुद्ध लाग्दा लोकतन्त्र खतरामा पर्दैन’–भने ।
‘आफैंले जन्माएकी छोरी घरभित्र असुरक्षित हुनेसम्मका अवस्था हुन थालेपछि सरकार निर्मम बन्नैपर्छ । यसकारण पनि इन्टरनेटका अश्लील साइट बन्द गर्ने योजना बनाएका हौं’–उनले भने ।
मन्त्री बाँस्कोटाले नेपाली जनताले सरकारसँग आशा गर्नेमात्र होइन, प्रत्येकको हक हुने भएकाले जनताको मौलिक हकलाई संहितामा थपिएसँगै अब प्रयोगमा ल्याइने बताए ।
उनले सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउन प्रतिबद्ध रहेको बताए ।
उनले भने–‘विद्युत् उत्पादन, विमानस्थल, पानीजहाज, मोनो र मेट्रोरेल, विशेष आर्थिक क्षेत्रलगायतका योजनामध्ये केही विकासको चरणमा छन् भने केही सुरु भइसके । यिनीहरू एकै वर्षमा बन्दैनन्, समय लाग्छ ।’
मन्त्री बाँस्कोटाले डिजिटल नेपालको योजनाअन्तर्गत् क्रमैसँग सामुदायिक विद्यालयहरुलाई कम्प्युटर प्रणालीमा लगिने बताए । रासस





प्रतिक्रिया दिनुहोस्