Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


मुख्यमन्त्री नियुक्तिको विरोधमा कार्यालय तोडफोड र नाराबाजी


572
Shares

काठमाडाैं ।

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् ।

उनीहरुले नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध नाराबाजी गरिरहेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएका छन् ।

त्यस्तै दलका कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पनि तालाबान्दी गरेका छन् । उनीहरुले प्रदेशका अन्य मन्त्रालयहरूमा पनि तालाबन्दी गरिरहेका छन् ।

त्यसैगरी प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।

उनीहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरूमा क्षति पु¥याएका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।

आज बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै सात राजनीतिक दलहरु छलफलमा जुटेका हुन् । उनीहरुले आगामी रणनीति तय गर्ने बताइएको छ ।

प्रदेश प्रमुख भण्डारीले संविधानलाई मिचेर एमालेका नेता यादवलाई संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बाँकी दलहरू असन्तुष्ट छन् । उनीहरुले सभामुखमाथि अविश्वासको प्रश्ताव प्रश्तुत गर्ने र सर्वोच् अदालतमा मुद्धा दायर गर्नेसम्मको तयारी गरेको बताइएको छ ।

छलफलमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीसहितका दलहरू सहभागी छन् ।