८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विश्व शरणार्थी दिवस मनाइयो


0
Shares

काठमाडौं, असार ६ । आज विश्वभर शरणार्थी दिवस मनाइएको छ । वर्षेनी जुन २० का दिन यो दिवस मनाउने गरिन्छ ।

२००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । द्वन्द्व, हिंसालगायतका कारणले विश्वमा धेरै मानिस आफ्नो थातथलो छाड्न बाध्य हुने गरेका छन् । नेपालमै पनि करिब २० हजारको संख्यामा शरणार्थी रहेको अनुमान छ ।

भुटानबाट आएका करिब ५० हजार शरणार्थीमध्ये धेरैलाई अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, बेलायत, अमेरिकालगायतका तेश्रो देशमा पुनर्वास गराइएको छ । नेपालमा अहिले सोमालिया, बंगलादेश, नाइजेरिया, म्यानमारलगायतका देशका शरणार्थी छन् ।

यस अवसरमा राष्ट्रसंघले शरणार्थी, शरणार्थीको मान्यता पाउनका लागि आश्रयको खोजीमा रहेका, राज्यविहीन मानिस तथा शरणार्थी जीवन बिताएर आफ्नो ठाउँ फर्किएका अनि शरणार्थी बन्ने जोखिममा रहेकाको हकका लागि एक भएर काम गर्न आग्रह गरेको छ ।

विश्वमा शरणार्थीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगका अनुसार सन् २०१७ को अन्त्यसम्ममा विश्वमा ६ करोड ८५ लाख शरणार्थी पुगेका छन् ।

युद्ध, हिंसा तथा उत्पीडनका कारण धेरै मानिस विस्थापित हुने गरेका हुन् । प्रजातान्त्रिक गणतन्त्र कंगो, दक्षिण सुडान, म्यानमार र सिरियाबाट धेरै मानिस पलायन भएको जनाइएको छ ।

म्यानमारमा रोहिंग्या संकट, सिरियामा विद्रोही, आईएस र सरकारी सेनाबीचको हिंसाको चपेटमा सर्वसाधारण परेका छन् । सन् २०१७ मा मात्रै १ करोड ६२ लाख मानिस विस्थापित भएको तथ्यांक छ ।

शरणार्थीको दर्जा पाउनका लागि आश्रयका लागि निवेदन दिनेको संख्या गतवर्षको अन्त्यसम्ममा ३१ लाखभन्दा बढी पुगेको युएनएचसिआरले जनाएको छ । आफ्नै देशभित्र विस्थापित हुनेको संख्या पनि चार करोड रहेको जनाइएको छ ।