काठमाडाैं । अमेरिकामा १ सय वर्ष भन्दा लामो इतिहासमा ३४ वर्षका जोहरान ममदानी न्यूयोर्कको मेयरमा निर्वाचित हुनुभएकाे छ।
ममदानी न्यूयोर्कका सबै भन्दा कान्छा, पहिलो मुस्लिम र एशियाली मूलका पहिलो मेयर हुनुहुन्छ । उहाँलाई रोक्नका लागि अमेरिकी अर्बपतिले २२ मिलियन भन्दा धेरै खर्च गरेपनि निर्वाचनको होडबाट रोक्न सकेनन् ।
अमेरिकाको सबै भन्दा ठूलो शहर न्यूयोर्क सिटीमा मुस्लिम समुदायका जोहरान ममदानी मेयरमा निर्वाचित हुनुभएको छ । केही महिना अघिसम्म खासै नचिनिएका ममदानीले आफ्नो निर्वाचन अभियानका क्रममा समाजवादी नाराअघि सार्नुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मामदानी निर्वाचित भए न्यूयोर्कलाई दिइने संघीय बजेट कटौती गर्ने चेतावनीका बाबजुत मतदाताले उहाँलाई नै निर्वाचित गरेका छन् । ममदानीलाई पराजित गर्नका लागि २६ अमेरिकी अर्बपतिका परिवारका सदस्यहरुले २२ मिलिउन डलरभन्दा धेरै खर्च गरेका थिए । विजयी भएपछिपछि समर्थकहरूलाई सम्बोधन गर्दै मम्दानीले यो विजयले न्यूयोर्कवासीहरूले परिवर्तनका लागि कार्यादेश दिएको टिप्पणी गर्नुभएको छ।
सन् १८९२ पछि निर्वाचित सबैभन्दा कान्छा मेयर मामदानी न्यूयोर्कमा मेयर हुने पहिलो मुस्लिम तथा एशियामा जन्मिएका पहिलो व्यक्ति पनि हुनुहुन्छ । निःशुल्क बालस्याहार, सार्वजनिक यातायातको विस्तार र स्वतन्त्र बजारमा सरकारी हस्तक्षेप जस्ता मुद्दाका कारण मामदानी लोकप्रिय बन्नुभएको थियो । प्रचारका क्रममा मामदानीले कामकाजी वर्गका मतदाताका खास आर्थिक समस्याबारे पनि ध्यान दिन सक्ने आफ्नो दक्षता प्रदर्शन गर्नुभएको थियो । ८४ लाख भन्दा बढी मानिसको बसोबास रहेको अमेरिकाको न्यूयोर्क शहरको मेयरमा डेमोक्रेटिक उम्मेदवार ममदानीको जितलाई ऐतिहासिक भनिएको छ। महानगरका मतदाताले ममदानीको ऐतिहासिक जितलाई भव्यताकासाथ स्वागत गरिरहेका छन् ।
युगान्डाको कम्पालामा जन्मिएका ममदानी ७ वर्षको उमेरमा आफ्नो परिवारसँगै न्यूयोर्क जानुभएको थियो । उहाँले कलेजमा अध्ययन गरिरहँदा प्यालेस्टाइनको न्यायका पक्षमा विद्यार्थीहरूको संगठन बनाउनुभएको थियो । उहाँले चुनावी प्रचारका क्रममा हिन्दी चलचित्रका शब्दहरू मिश्रित उर्दूमा पनि भाषण गर्नुभएको थियो । उहाँकी आमा मीरा नायर भारतीय मूलकी चर्चित चलचित्र निर्देशक हुनुहुन्छ। उहाँका बुबा प्राध्यापक महमुद मम्दानीले कोलम्बियामा प्राध्यापन गर्नुहुन्छ । ममदानीका आमा-बुबा दुवै जनाले हार्भर्ड विश्वविद्यालय अध्ययन गरेका थिए। राजनीतिमा आउनुअघि ममदानी हिप–हप र्यापरका रुपमा परिचित हुनुहुन्थ्यो ।
ममदानीले आगामी जनावरी १ तारिखमा न्यूर्योक महानगरको पदभार सम्हाल्नुहुने भएकाे छ।




प्रतिक्रिया दिनुहोस्