Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता

आगामी निर्वाचनकाे बारेमा विशेष रूपमा छलफल

286
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा.रामवरण यादवबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बुधबार साँझ भएको भेटवार्तामा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा छलफल भएकाे हाे। प्रधानमन्त्री कार्कीले आफू जेनजी युवा आन्दोलनको भावना अनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताउनुभयो। साेही क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल निर्वाचनमा जानैपर्ने रनिर्वाचनबाट कोही पनि भाग्न नहुने धारणा राख्नुभयो। उहाँले सरकारका तर्फबाट निर्वाचनका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सह्राहना पनि गर्नुभएकाे छ।

उहाँले भन्नुभयो,-‘मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान निर्वाचन नै सर्वोत्तम बाटो हो। तपाईहरुले निर्वाचनका लागि गर्नुभएको तयारी र सबै पक्षहरुसँग गर्नुभएको संवादले सकारात्मक वातावरण बनाएको छ। निर्वाचन आयोगलाई बजेट दिनुभएको छ। बन्दो-बस्तीका सामग्रीको व्यवस्थापन भइरहेको छ। यो राम्रो कुरा हो। अब नागरिक समाजसँग पनि कुरा गर्नुहोस्। नागरिक समाजले पनि दलहरुलाई चुनावमा जान प्रेरित गर्नुपर्छ।’

पूर्वराष्ट्रपति यादवले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा कसरी निर्वाचन सम्भव भएको विषयमा आफ्नो अनुभव पनि सुनाउनुभयो। त्यतिखेरको सुरक्षा अवस्था र भूराजनीतिक परिवेशका सम्बन्धमा पनि उहाँले चर्चा गर्नुभएकाे छ। सुरक्षा व्यवस्था सुदृढ गराउन सबै सुरक्षा निकायहरुबीचको समन्वयमा जोड दिनुभयो। दलहरुले पनि निर्वाचनको अपरिहार्यता बुझेका कारण आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैले भाग लिने कुरामा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो। दलहरुलाई आफूले पनि भनिरहेको बताउँदै उहाँले निर्वाचनको विकल्प नभएकाे बताउनुभयाे। अहिले यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउन नहुने समेत उहाँले बताउनुभएकाे छ।

साेही भेटवार्तामा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल लगायतको उपस्थिति थियो।
मंगलबार मात्रै गृहमन्त्री ‌ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति यादवको ललितपुरस्थित निवासमै पुगेर भेटवार्ता गर्नुभएको थियो।
सरकारले आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरुसँग संवाद तीव्र रुपमा अघि बढाएको छ।