काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्ला २० वर्षमा नेपालमा धेरै कुरा बदलिए पनि राजनीतिक दलको नेतृत्व भने बदलिन नसकेको बताउनुभएको छ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। संविधान, राज्य व्यवस्था, बसाईसराई, आर्थिक गतिविधि र बजारको विस्तार लगायतका गतिविधिले समाज नयाँ हिसावले पुनःगठित भएको उहाँको भनाइ छ। प्रविधि, यसको विकास र यसले समाजमा पारेको प्रभाव, मनोविज्ञानले धेरै कुरा बदलिए पनि पुराना पार्टीहरुको नेतृत्व भने बदलिन नसकेको भुसालकाे तर्क थियाे।
संसद विघटन गर्दा पनि केपी ओली नेकपा एमाले अध्यक्ष भइरहने, पार्टी सकिएर जाँदा पनि पुष्पकमल दाहाल माओवादी केन्द्रको अध्यक्ष भइरहने प्रवृत्ति हट्न नसकेको उहाँले टिप्पणी गर्नुभयो। माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असन्तुष्ट भुसालले आगामी मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्ने जानकारी दिनुभएकाे छ। पार्टीको बहुमत केन्द्रीय समितिले माओवादीसँग आत्मसर्मपण गरेको उहाँको भनाइ थियाे।
केन्द्रीय समितिको बहुसंख्याले आत्मसर्मपन गरेपनि जिल्ला तहमा भने आफूहरुको बहुमत रहेको उहाँको दावी छ । राजनीतिक रुपमा एकीकृत समाजवादी पार्टी क्रियाशिल रहने उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टीको पुनर्गठनको अभियानमा धेरै समूह जोडिँदै जाने महासचिव भुसालले विश्वास व्यक्त गर्नुभएकाे छ।




प्रतिक्रिया दिनुहोस्