काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले आफू निःशर्त नेकपा एमालेमा फर्किन तयार रहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफू एमालेमा कुनै शर्त बिना फर्किन तयार रहेको र आफूहरुलाई हाँसेर बोलिदिए पुग्ने जिकिर गर्नुभयो ।
आफूले पसिना बगाएको, जीवन अर्पण गरेको पार्टीमा फर्किन आफूहरुले चाहेको बताउनु भयो । आफूहरु कुनै पदको लागि फर्किन नलागेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले नेकपा (माओवादी केन्द्र) सहित पार्टी एकता गर्नै निर्णय ग¥यो । र अर्को हाम्रा पार्टीका महासचिव, सम्मानित नेताहरुले अर्को पार्टी पुनःगठन गर्ने प्रक्रियामा हुनुहुन्छ ।
हामी यो टिम वा हामी साथीहरु पार्टीका स्थायी कमिटीका सदस्य रामकुमारी झाँक्री लगायतका साथीहरु कसैसँग समाहित र कसैसँग एकता भन्दा पनि हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा फर्किने अभियानमा छौँ ।
हामी घर फर्किने क्रममा नेकपा एमालेसँग वार्ता संवादमै छौँ । हामी कुनै पदको लागि होइन, निःशर्त घरमा फर्किंदै छौँ । हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए पुग्छ ।’ नेता श्रेष्ठले एमाले नेताहरुले आफूहरुलाई सम्मानजनक व्यवहार गरिदिए मात्रै पुग्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल




प्रतिक्रिया दिनुहोस्