Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


नेपाल–भारतबीच विद्युत् आदान-प्रदान गर्न सातबुँदे सहमति


117
Shares

काठमाडौं ।

पोखरामा सम्पन्न नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकमा दुवै देशबीच ऊर्जा क्षेत्रमा सहकार्य वृद्धि गर्ने विषयमा महत्वपूर्ण सहमतिहरू भएका छन् ।

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह–अध्यक्षतामा कार्तिक १७ र १८ गते बैठक सम्पन्न भएको हो ।

बैठकमा विद्युत आदान–प्रदान क्षमता विस्तार, प्रसारण प्रणाली सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी विस्तृत छलफल भएको छ । विशेषगरी चमेलिया–जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको संयुक्त डिपिआर नोभेम्बर २०२५ भित्र तयार गर्ने र २०२७ डिसेम्बरसम्म कार्य सम्पन्न गर्ने सहमति गरिएको छ ।

त्यस्तै, नयाँ बुटवल–गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने र यस प्रसारण लाइनमार्फत हुने विद्युत आयात–निर्यात क्षमताबारे उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग १५ दिनभित्र थप छलफल गर्ने निर्णय भएको छ ।

ढल्केवर–मुजफ्फरपुर तथा ढल्केवर–सितामढी लाइनमार्फतको विद्युत आदान–प्रदान क्षमताको पुनर्मूल्यांकनपछि नेपालले भारततर्फ १,५०० मेगावाट निर्यात र १,४०० मेगावाट विद्युत आयात गर्न सक्ने क्षमता कायम भएको निष्कर्ष निकालिएको छ ।
यसबाहेक निजगढ–मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको डिपिआर तयारीका लागि नेपालले एक महिनाभित्र आवश्यक प्राविधिक विवरण उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले डिपिआर तयार गर्ने सहमति भएको छ ।

लमही–लखनउ ४०० के.भी. प्रसारण लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लमही वा कोहलपुर रहनेबारे संयुक्त अध्ययन गरी डिपिआर बनाइने पनि जनाइएको छ ।

ढल्केवर–मुजफ्फरपुर ४०० के.भी. लाइनलाई उच्च तापक्रम सहनसक्ने प्रविधि प्रयोग गरी रिकन्डक्टरिङ अघि बढाइने र रक्सौल–परवानीपुर तथा रामनगर–गण्डक १३२ के.भी. लाइनहरूको क्षमता अभिवृद्धिका लागि कन्डक्टर प्रतिस्थापनसम्बन्धी संयुक्त अध्ययन सुरु गरिनेछ । बैठकले नेपाल र भारतबीच ऊर्जा व्यापार विस्तार, प्रसारण पूर्वाधार बलियो बनाउने र आगामी परियोजनाहरूलाई तीव्रता दिने मार्ग प्रशस्त गरेको बताइएको छ ।