पाल्पा । केही वर्ष यता पाल्पाकाे रिव्दिकोट गाउँपालिकाले अकबरे खुर्सानी प्रमुख खेतीको रुपमा पहिचान बनाएको छ।
गाउँपालिकाभित्रका ८ वटै वडाका १ हजार ४ सय किसानहरुले अकवरे खुर्सानी खेती गर्दै आएका हुन । अकवरे खुर्सानीबाट रिव्दिकोटका किसानले वार्षिक ५० हजारदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
बिक्रीको सुनिश्चितता भएकोले किसानहरु उत्साहित हुँदै खुर्सानी खेतीमा लागेका हुन् । अहिले रिव्दीकोटमा मात्र १ हजार ५ सय रोपनी क्षेत्रफलमा खुर्सानी खेतीहुदै आएको छ । परम्परागत खेतीपातीबाट जीविकोपार्जन गर्न कठिनाई भएको र जंगली जनावारबाट पनि मकै गहुँ तोरी जस्ता खेतीपाती हानीनोक्सानी हुने गरेकोले विकल्पको रुपमा अकवरे खुर्सानीमा किसानहरुले जोड दिएका हुन् । अहिले किसानले प्रतिकेजी २ सय रुपैयाँसम्ममा अकबरे खुर्सानी बिक्री गर्दै आएका छन् ।
रिव्दीकोटको हार्थाेकमा अकवरे खुर्सानी संकलन तथा बिक्री केन्द्र राखिएको छ । केन्द्रमा रैनादेवी छहरा, बगनासकाली, माथागढी र तानसेन सम्मका किसानहरुले खुर्सानी विक्रि गर्न लैजाने गरेका छन् । पाल्पाको रिव्दिकोट गाउँपालिकामा अकवरे खुर्सानी अहिले सबै कृषकहरुको आय-आर्जनको प्रमुख श्रोत बनेको छ ।
२०७६ सालदेखि ८ वटै वडामा अकबरे खुर्सानी खेती अभियान चलाए पछि यस खेतीबाट आम्दानी बढ्दै हो गत वर्ष मात्र संकलन केन्द्रबाट २ करोड ७२ लाख रुपैयाँ र अन्य स्थानमा गरी ४ करोडको खुर्सानी बिक्री भएकोमा यस वर्ष संकलन केन्द्रमा असोज महिनासम्म ३ करोड रुपैयाँ किसानलाई भुक्तानी गरेको खुर्सानी संकलन केन्द्रका संचालक जनक आचार्यले बताउनुभयो।
गाउँमा जंगली जनावरको कारण खेतीयोग्य जमिन बाझिदै गएको हुँदा अकबरे खुर्सानी खेती कार्यक्रम शुरु गरेपछि पालिका भरी नै खुर्सानी खेती विस्तार भएको हो। पालिका अध्यक्ष हुदा शुरु गरेको अकवरे खुर्सानी खेतीलाई अहिले पनि निरन्तरता दिंदै आएको निवर्तमान पालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।
रिव्दिकोटका अधिकाश किसानहरुले मकै तथा अन्य अन्नवालीको विकल्पमा खुर्सानी खेती गर्दै आएका छन् । परिवारसँग रमाउदै खुर्सानी खेती गरेर मासिक १ लाख रुपैयाँ कमाउन बाहिरी देश भौतारिन नपर्ने रिव्दिकोटका किसानहरुको अनुभव रहेको छ। २ हजार बोटमा करिब २ हजार किलो खुर्सानी उत्पादन लिन सकिने जसमा करिब ५ लाख रुपैयाँ सजिलै आम्दानीहुने किसान नारायण नेपालले बताउनुभयाे।
मिहिनेत गरे माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण पाल्पा रिव्दीकोटका किसानहरु बनेका छन्। बन्यजन्तुले पनि क्षती नगरेपछी खुर्सानी उत्पादनमा वृद्धि भएको हो । घरायासीको लागि मात्र प्रयोग हुँदै आएको खुर्सानी अहिले व्यवसायिक रुपमा उत्पादन हुदा गाउँमा करोडौ रुपैयाँ भित्रिएको छ ।




प्रतिक्रिया दिनुहोस्