काठमाडाैं । शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका बासीन्दासँग विभिन्न समयमा भएका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ।
बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गर्ने क्रममा आइतबार उहाँले स्थानीयका मागहरु १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे हो । उहाँले वातावरणीय प्रभाव मूल्यांकन बाहेक अन्य मागहरु १५ दिनभित्र पूरा गर्ने बताउनुभयो । वातावरणीय प्रभाव मूल्यांकन भने आगामी पुस महिनापछि हुने उहाँकाे भनाइ छ। सोही कार्यको लागि परामर्शदाता छनाेट गरी काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो । ल्याण्डफिल्ड साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार चरणको तथ्यांक आवश्यक पर्ने भएकाले पूरक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न गर्न केही समय लाग्ने उहाँको भनाइ छ।
मन्त्री घिसिङले ईआईएपछि प्रभावित क्षेत्रको पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले स्थानीयवासी र नगरपालिकाबीच २०७९ सालमा भएको १८ बुँदे सहमति र २०८० सालमा प्रधानमन्त्रीसँग भएको ४ बुँदे सहमति अझै कार्यन्वयनमा नआएको स्वीकार गर्नुभयो । उहाँले स्थानियवासीसँग भएको सम्झौतालाई अनिवार्य कार्यन्वयन गर्नुपर्ने पक्षमा आफू रहेको बताउनुभएकाे छ।
सहमति कार्यन्वयनका लागि सबै सरोकारवालाहरुसँग समन्वय गर्ने मन्त्री घिसिङले बताउनुभयाे । उहाँले पुराना सम्झौता कार्यन्वयन हुँदा मात्रै पनि धेरै समस्या समाधान बताउँदै फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ। अल्पकालीन रुपमा गर्न सकिने काम तत्काल अगाडि बढाउने र विगतमा भएका सहमति कार्यान्वयनका लागि गर्नुपर्ने नीतिगत निर्णय गर्ने जानकारी दिनुभयो ।
मन्त्री घिसिङले फोहोर व्यवस्थापनको काम रातीको समयमा गर्न पनि निर्देशन दिनुभएकाे छ । राति काम गर्नको लागि उहाँले विद्युतको व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभयो । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सहमति गर्ने तर त्यसलाई कार्यन्वयन नगर्ने प्रचलन बसेको भन्दै असन्तुष्टि जनाउनुभएकाे छ । नागरिकले आन्दोलन नगरेसम्म निदाएर बस्ने प्रचलन अन्त्य गर्नुपर्ने उहाँको माग थियाे । स्थानीयले नयाँ कुनै माग नराखेको भन्दै उहाँले सरकारसँग विगतमा भएको जमिनको रेखांकन, मूल्याङकन, अधिकरण र निक्षेपको व्यवस्थापन सम्बन्धि भएको सहमति कार्यन्वयन गर्न आग्रह गर्नुभएकाे छ।
मन्त्री घिसिङले स्थानीयको माग पूरा गर्ने प्रतिवद्धता जनाउनुभएपछि बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जन गर्न ५ दिन यता भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्डसाइटतर्फ गएका छन् । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङले शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी र काठमाडौं महानगरपालिका कार्यकारी अधिकृतसहितको टोली लिएर आइतबार बिहान बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा जानुभएको थियो ।
टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुकासाथै ल्याण्डफिल्ड साइट पर्ने धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख, नुवाकोटका ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्षहरु र स्थानीय बासिन्दासँग अन्तक्रिया गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्