Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


काभा यू-१९ महिला च्याम्पियनसिपमा सुखद नतिजा ल्याउँछौंः मुख्य प्रशिक्षक राई


221
Shares

काठमाडाैं । नेपाली यू-१९ महिला भलिबल टोलीका मुख्य प्रशिक्षक कुमार राईले श्रीलंकामा हुने काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा आशावादी नतिजा ल्याउने लक्ष्य ल्याउने बताएका छन् ।

यहि कात्तिक १८ गतेदेखि २३ गतेसम्म कोलम्बोमा काभा यू–१९ महिला भलिबल च्याम्पियनसिप हुने भएकाे हाे। उक्त च्याम्पियनसिपका लागि शनिवार भएको बिदाइ कार्यक्रममा प्रशिक्षक राईले यसपल्ट तयारी धेरै राम्रो भएको र नतिजा पनि राम्रो आउने आशा व्यक्त गरेका छन् । प्रशिक्षक राईले यसपल्ट करिब ४५ दिन जति तयारी गरेको उल्लेख गरेका हुन् । गत संस्करण नेपाल तेस्रो भएको थियो ।

त्यति बेला नेपाली खेलाडीमा म्याच एक्सपोजर राम्रो नहुनु र उनीहरू नर्भस हुँदा सोचेअनुरूप नतिजा आउन नसकेको प्रशिक्षक राईको भनाइ छ । यद्यपि, यसपल्ट खेलाडीहरूमा आत्मबल बढेको प्रशिक्षक राईकाे भनाइ थियाे।

राष्ट्रिय टोलीका केही सदस्यहरू नै राखेर यू–१९ टोलीलाई अभ्यास गराएको उनले उल्लेख गरेका छन् । यस क्रममा नेपाली खेलाडीले सुखद प्रदर्शन गरेकाले नतिजा पनि राम्रो आउने उनको भनाइ थियाे। गत वर्ष नेपालले ९ दिनको तयारीले काभा यू–२० महिला च्याम्पियनसिप खेलेको थियो । तर, नेपाली टोली तेस्रो स्थानमा सीमित हुनु पर्यो ।

यस पटक लामो समयदेखि तयारी भएकाले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गर्ने आशा राखेका छन् । डिफेन्डिङ च्याम्पियन किर्गिस्तानसहित नेपाल, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले फाइनलमा खेल्ने भएका छन् । प्रशिक्षक राईले यसपल्ट यी टोलीलाई हराउने आत्मबलसहित तयारी गरेको बताएका हुन् ।