Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


११ औं महाधिवेशन आगामी मंसिरमा काठमाडौंमा गर्ने एमालेको निर्णय

महाधिवेशनका लागि ६ लाख ६७ हजार बढी पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने

559
Shares


काठमाडाैं ।
नेकपा एमालेले ११ औं महाधिवेशन काठमाडौंमा गर्ने भएको छ। 

भक्तपुरकाे गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा शनिबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि बसेको केन्द्रीय कमिटीको बैठकले ११ औं राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । तर शनिबारको बैठकले स्थान परिवर्तन गरेर काठमाडौंमा गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । एमालेको महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय भइसकेको छ।

महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने उहाँले बताउनुभयो । प्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिबार देशैभरी एकसाथ हुने उहाँले बताउनुभएकाे छ। प्रतिनिधिहरुको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रिय कार्यालयमा पठाइसक्नुपर्ने उहाँले बताउनुभयो । प्रतिनिधि चयनका लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानिएको उहाँकाे भनाइ छ। एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १ हजार २ सय पार्टी सदस्य बराबर दुई जना खुला, एक जना महिला र एक जना ४० वर्ष मुनिका युवा गरेर हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा ४ जना निर्वाचित हुने उहाँले बताउनुभयो ।

त्यसबाहेक अरेक ८ सय सदस्य संख्या थपिँदै जाँदा थप एक जना प्रतिनिधि चुनिने र त्यसमध्ये महिला अनिवार्य हुने उपमहासचिव ज्ञवालीले बताउनुभयो । प्रतिनिधिमा न्यूनतम एक तिहाई महिला सहभागिता गराउने उहाँले दावी गर्नुभयो । दलित पार्टी सदस्यहरुको हकमा उनीहरुका लागि जिल्ला निर्वाचनको इकाइ हुने र हरेक ५ सय दलित प्रतिनिधिमध्येबाट एक जना प्रतिनिधि निर्वाचित हुने उहाँकाे भनाइ छ। आरक्षित क्षेत्रबाट (ट्रेड युनियन) मा प्रदेशलाई इकाई मानिएको र प्रदेशमा रहेका ट्रेड युनियनका पार्टीमा कार्यरत पार्टी सदस्यहरुमध्येबाट दुई जना महिला र ५ जना खुला गरेर सात जना हरेक प्रदेशबाट निर्वाचित हुने उहाँले बताउनुभयो।

उपमहासचिव ज्ञवालीले २३ वटा पार्टीका जनसंगठनबाट दुई जना महिला र तीन जना अनिवार्य हुने बताउनुभयो । महासंघीय ढाँचाका ६ वटा जनसंगठनबाट थप ७ जना प्रतिनिधि रहने उहाँकाे भनाइ छ। पार्टीका ३२ वटा विभागहरुबाट हरेक विभागबाट एक जना र केन्द्रीय कार्यालयबाट एक जना चयन हुने उहाँले बताउनुभयो । पार्टीका प्रदेश कमिटीबाट तीन जना खुला र दुई जना महिला गरी ५ जना निर्वाचित हुने र प्रवासमा रहेका ६ वटा महादेशस्तरका संगठनबाट हरेकबाट ५ जनाका दरले निर्वाचित हुने उहाँकाे भनाइ छ।

उपमहासचिव ज्ञवालीले ९ सय ७० तल्लो संगठनहरुबाट, विशेष जिल्लाहरुबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, प्रवासबाट ३०, केन्द्रीय विभाग र कार्यालयबाट ३३ र जनसंगठनबाट १ सय २७ गरी करिब २ हजार १ सय सदस्य हुने बताउनुभयो । प्रदेनमा केन्द्रीय कमिटीबाट ३ सय ५४ जना, अनुशासनबाट २९, लेखाबाट ३०, निर्वाचनबाट २५ जना र सल्लाहकारबाट २५ जना गरी ४ सय ६४ जना पदेन प्रतिनिधि रहने उहाँकाे भनाइ छ।

उपमहासचिव ज्ञवालीले संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि जनपरिचालन गर्ने योजना अनुसार देशभरका ६ हजार ७ सय ४३ वटै वडामा आगामी कार्तिक २२ गते जनभेला, कार्तिक २५ गते प्रत्येक पालिकामा प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा कार्तिक २९ गते जनसभा गर्ने र काठमाडौंमा मंसिर ६ गते जनसभा गर्ने निर्णय भएको बताउनुभयो । विधान महाधिवेशनबाट आएका सुझावहरुलाई परिमार्जन गरी कार्तिक २० गतेसम्म अन्तिम रुप दिने निर्णय भएको उहाँकाे भनाइ छ।