कामठाडौं । पूर्वउपप्रधानमन्त्री भीम रावलले वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाउनुभएकाे छ।
काठमाडौंमा शनिबार आयोजित एक छलफल कार्यक्रममा बोल्दै उहाँले वर्तमान संविधानलाई उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्कीको वैधतामाथि प्रश्नचिह्न खडा भएको प्रतिक्रिया दिनुभएकाे हाे। नेपालको संविधान अनुसार अघि बढ्ने हो भने सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने र सोही सरकारमार्फत प्रतिनिधिसभा विघटन गराउने अधिकारी नभएकाले वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारको आधिकारिता र वैधतामाथि प्रश्न उठ्ने अवस्था रहेको उहाँकाे भनाइ थियो। पूर्वउपप्रधानमन्त्री रावलले यहि संविधान अनुसार वर्तमान सरकारले निर्वाचन गराए पनि मान्य नहुने दावी समेत गर्नुभएकाे छ।
उहाँले भन्नुभयो,-‘सरकारले हामी त चुनाव मात्रै गर्ने हो, संविधान मान्छौं भन्ने हो भने त गम्भिर प्रश्न उठ्छ । यदि यो संविधानलाई जस्ताको तस्तै मान्छौं, केही पनि गर्दैनौ भन्ने हो भने प्रधानमन्त्रीको आधिकारिता र बैधतामाथि प्रश्न उठछ । विद्रोहले मात्रै संविधान विपरित प्रधानमन्त्री हुन पाईन्छ । यदि विद्रोह होइन, संविधानको घेराभित्रबाटै अघि बढ्छौं भन्यो भने नेपालको संविधानले पूर्वप्रधानन्यायाधीशलाई राजनीतिक नियुक्ति मानव अधिकार आयोग बाहेक कहीं पनि जाने अधिकार छैन । राष्ट्रपतिलाई प्रतिनिधि सभाको विघटन यस्तो अन्तरिम सरकारबाट गराउने अधिकार छैन । अनि सरकार अवैध हुँदैन ? होइन हामी विद्रोहबाट आएका हौं भने त्यहीअनुसार काम किन हुँदैन भनेर आवाज उठाउनु होला ।’
पूर्वउपप्रधानमन्त्री रावलले मुलुकमा परिवर्तनको आभास दिलाउने हो भने संविधानमा रहेका कयौं विषयहरु संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता रहेकाे औंल्याउनुभयो ।




प्रतिक्रिया दिनुहोस्