काठमाडाैं । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको कारण देशका अधिकांश भागमा वर्षा भइरहेको छ।
उच्च पहाडी तथा हिमाली भेगमा ब्यापक रुपमा हिमपात पनि भइरहेको हाे । कोशी र मधेश प्रदेशमा चक्रवातको प्रभाव सबै भन्दा बढी परेको छ । लगातारको वर्षाले धानबाली नष्ट हुने जोखिम एकातिर छ भने अर्कोतिर लगातारको झरीले चिसाे बढाउँदा जनजीवन कष्टकर बनेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि भएको छ । मौसममा एका-एक आएको परिवर्तनबाट किसानदेखि सर्वसाधारण त प्रभावित भएका छन् नै, त्ससमाथि हिमाली क्षेत्रमा पुगेका आन्तरिक तथा बाह्य पर्यटक प्रत्यक्ष मारमा परेका छन् । गण्डकी प्रदेशको मनाङको तिलिचो ताल घुम्न जाने पर्यटकहरु ठूलो संख्यामा अलपत्र पर्ने अवस्था समेत आयो । स्वदेशी तथा विदेशी पर्यटकहरु वर्षा तथा हिमपातका कारण अलपत्र परेका हुन् ।
स्थानीय निकाय र उद्दार टोलीले उनीहरुको उद्धार गर्न सक्दो प्रयास गरे पनि तत्काल उद्धार हुन कठीनाइ हुँदा उनीहरु मारमा परेका हुन् । ३५ जना स्वदेशी तथा विदेशी पर्यटक तिलिचो बेसक्याम्पमा फसेका हुन् । खराब मौसमका कारण हवाई उद्धारमा ढिलाई हुँदा उनीहरु तिलिचो र आसपास क्षेत्रका होटलहरुमा बस्न बाध्य भएका छन् ।
मौसम केही सुधार भएपछि फर्किने आशा राखेर त्यहाँ बसेका पर्यटकहरु मध्ये महिला तथा बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेको गुनासो आन्तरिक पर्यटकहरुले गरेका छन् । यता, जल तथा मौसम विज्ञान विभागले बिहीबार रातिदेखि पानी पर्ने क्रम बढ्ने र शनिबार बिहानसम्मै पानी पर्ने जनाएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भारी हिमपातको साथै भारी वर्षाको सम्भावना पनि रहेको मौसमविद् धर्म उप्रेतीले बताउनुभयाे।
सम्भावित वर्षा र हिमपातका कारणले नदीनालामा आकस्मिक बहाव-पहिरो लगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि र पर्यटन लगायत क्षेत्रहरुमा प्रभाव पर्न सक्ने सम्भावना रहेको छ । विभागले सकेसम्म यात्रा नगर्न तथा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।




प्रतिक्रिया दिनुहोस्