राजु पौडेल
गत भदौ २३ र २४ गते भएको देशव्यापी जेनजी युवाकाे आन्दोलनले देशको विद्यमान बेथितिमाथि प्रश्न उठायो ।
यो मात्रै होइन आन्दोलनको बलमा दुई तिहाई नेतृतवको सरकार अपदस्त भयो। चाहेर नचाहेर यो समूहको आन्दोलनका क्रममा ७६ जनाले शाहदत प्राप्त गरे, सयौं घाइते र अंगभंग भए भने संसद भवन, सिंहरवार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतसहित सयौं सरकारी तथा निजी भौतिक संरचना तोड्फोड र आगजनी गरिए । यति मात्र होइन संवेदनशील सरकारी एवं अदालती कागजातहरु छानिछानी जलाइए, नष्ट गरिए । यी सबै कुराको दुःख आफ्नो ठाउँमा छ ।
उनी भनिन्छ, “अँध्यारो पछि उज्यालो अवश्य आउँछ ।” हामीलाई आशा थियो कि यति ठूलो जनधनको क्षति व्यहोरिसकेको देशमा परिवर्तन पश्चात बनेको सरकारले आम जनतामा नयाँ उत्साह भर्ला । उपेक्षा, उत्पीडिन र दमनमा परेका वर्ग तथा समुदायलाई राहात महशुस हुने गरी काम गर्ला । हिजोका दिनमा प्रहरी प्रशासन र कर्मचारीतन्त्रमा देखिने गरेको चाकरी, चाप्लुसी र दलीयतन्त्र अन्त्य होला र हरेक क्षेत्रमा एउटा मानक बनाएर कार्यसम्पादन होलान् । तर ती सबै जन-अपेक्षा क्रमशः स्खलित हुँदै गएका छन्, जान थालेका छन् ।
जेनजी आन्दोलनको राप र तापबाट बनेको सरकारले देशमा पहिलो पल्ट महिला कार्यकारी प्रमुख पायो । उहाँँबाट विगत भन्दा फरक अपेक्षा राख्नु स्वभाविक पनि थियो । तर अरु त अरु देशले महिला कार्यकारी प्रमुख पाइरहेको बेला कयन् अप्ठ्याराहरुसँग जुधेर, प्रहरीको शीर उच्चो बनाएकी, थुप्रै जिल्लामा महिला इन्चार्ज भएर फिल्डमा काम गरेर सबैको मन जितेकी गंगा पन्त भने कार्की सरकारकै बेला उपेक्षामा परकी छन् ।
गैर-दलीय नागरिक सरकार भनेर चिनिएकी सुशिला कार्की देशकै पहिलो महिला प्रधानमन्त्री र नागरिक समाजबाट गृहमन्त्री बनेका र कानून बुझेका भनिएका ओमप्रकाश अर्याल गृहमन्त्री बनेकै बेला पन्त जस्ता कर्मशील र जुझारु महिला अफिसर उपेक्षामा परिनुले प्रहरी सेवामा रहेर काम गर्ने अन्य महिलाहरुलाई कस्तो सन्देश प्रवाह गर्ला ? हालै मात्र बढुवा सिफारिस समितिको बैठकले ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा सिफारिस गर्यो । सिफारिस भएका सबै नाम २०५६ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा सेवा प्रारम्भ गरेको समूह हो ।
महिलाहरु प्रहरी सेवामा उत्कृष्ट योगदान गर्न सक्दैनन् भन्ने त्यतिबेलाको भाष्य चिर्दै २०५६ सालबाट सेवा प्रवेश गरेकी पन्त सहकर्मी साथीहरुमध्ये प्रहरीप्रति आम मानिसमा देखिएको भ्रम वा नकारात्मकता चिर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र महिलाहरुले पनि पुरुष सरह काम गरेर रिजल्ट दिन सक्छन् भन्ने उचो भनोभाव बोकेको अफिसर हुन् । उनी प्रहरी संगठनमा कसैको दया, माया र करुणाले मात्र होइन दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गरेर आफ्नो परिचय बनाएकी अफिसर हुन् ।
उनले तत्कालीन समयमा करीव डेढ वर्ष गौशाला वृत्तमा रहेर अब्बल काम गरेर सबैको मन जितेकी थिइन् । महिला प्रहरीले फिल्ड कमाण्ड सम्हाल्न सक्दैनन् भन्ने तत्कालीन प्रहरीको मनोविज्ञानलाई चिर्दै उनले पहिलो महिला फिल्ड इन्चार्जको रुपमा उत्कृष्ट काम गरेर देखाइन् । त्यसो त उनीसँग प्रहरी वृत्त बालाजुमा समेत जोखिमपूर्ण समयमा इन्चार्जको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गरेको अनुभव ताजै छ । सानो जिल्ला भइकन कार्यसम्पादनमा चुनौतीपूर्ण जिल्लाको पहिचान बोकेको पर्वतमा समेत उनले प्रहरी के हो र कस्तो हुनुपर्छ भन्ने सन्देश दिएर गइन् ।
पर्वतमा रहँदा उनले जिल्लाको शान्ति सुव्यवस्था कायम राख्दै नागरिक मैत्री प्रहरी कार्यालय, प्राकृतिक सम्पदा संरक्षण, कारागारका कैदीलाई कोष स्थापना, बालवालिका तथा हिंसापीडितहरुका लागि आश्रयस्थल (सेफ हाउस) निर्माणको परिकल्पना र शुरुवात, सामाजिक तथा लैंगीक हिसा न्यूनिकरण, सामाजिक अपराध न्यूनीकरण र जनमैत्री प्रहरी सेवा प्रवाह गर्दै जनतामा वाहवाही कमाइन् । प्रहरीसँग पहुँच पुर्याउन कि नेता चाहिन्छ, कि पैसा चाहिन्छ भन्ने विगतको भाष्यलाई चिर्दै आम सर्वसाधारणमा सहज पहुँच स्थापित गरिन् । जनमैत्री कामका दौरानमा प्रहरीभित्रैबाट उनीमाथि असहजता र अप्ठ्याराका पहाड आइ नलागेका होइनन् । संगठनभित्रै र बाहिरका काँडेतार पन्छाउँदै सबै असहजता चिरेरै उनी पर्वतमा सबैको वाहवाही बनिन् ।
पर्वतमा सफल जिल्ला इन्चार्जको भूमिका निर्वाह गरिसकेकी पन्त तत्कालीन समयमा चितवन जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्ने चर्चा नचलेको पनि होइन् । तर पन्तको राजनीतिक नेताहरुको चाकरी गर्न नरुचाउने स्वभाव र नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहालले चितवनमा आफू अनुकूल इन्चार्ज लैजाने चाहनाका कारण उनको चितवन जाने यात्रा रोकिएको चर्चाले त्यतिबेला रामै बजार पायो । प्रहरी प्रशासनमा राम्रो काम गरेर होइन, नेताहरुको चाप्लुसी र आशिर्वादका भरमा काम हुन्छन् भन्ने भाष्य हिजैदेखि नचलेको होइन् । पन्त यहि भाष्य चिर्नपर्छ र प्रहरी प्रशासनमा आमूल सुधार ल्याउनुपर्छ भन्ने पृथक सोंच बोकेको अफिसरको रुपमा जनतामा परिचित नाम हो । जसका कारण उनी पटक-पटक अवसरबाट वञ्चितिमा परेकी छन् ।
राजनीतिक खिचातानीका कारण अवसरबाट बञ्चित हुँदै आएकी उनी पर्सा जिल्ला इन्चार्जको रुपमा समेत आफूलाई खरो रुपमा उतारिन् । उनले पर्सामा कोभिड महामारीको समयमा राम्रोसँग कार्यसम्पादन गरिन् । भारतसँग सिमा जोड्एिका ठाउँबाट हुन सक्ने जोखिमलाई सुझबुझका साथ व्यवस्थापन गरिन् । साथै सीमानामा हुने चोरी, तस्करीहरुसँग रातदिन नभनी खट्ने, लड्ने प्रहरी माथि लाग्दै आएका दाग मेनाउन हरदम कोसिस गरिन् । त्यसाे त उनी जहाँ जान्छिन् त्यहाँ पुलिसिङ के हो भन्ने कुरा आम सर्वसाधारणमा सकारात्मक धारणा स्थापित गराइन् ।
खुल्ला प्रतिस्पर्धाबाट सेवामा कुनै दल विशेषको आशिर्वाद नथापी सेवामा निखार्दै लगेकी उनले ग्लोबल भ्याकेन्सी मार्फत यूएन मिसनमा समेत आफ्नो क्षमता र दखलता मार्फत नेपाललाई विश्वमा चिनाइहेकी छन् । हरेक चुनौतीलाई सहजसँग लिने र सामना गर्ने साहस बोक्ने महिला अफिसर राज्यले कमै मात्र पाउन सक्छ । पितृ सत्ताले र राजनीतिले गिजोलेको हाम्रोजस्तो मुलुकमा गैर-दलीय महिला राष्ट्रप्रमुख भइरहेकाे समयमा कार्यक्षेत्रमा निडर महिला अफिसर माथि गरिने यस्ता उपेक्षाले आम पुलिस प्रशासन र समग्र महिला कर्मचारीले सरकारलाई हेर्ने दृष्टिकोण कस्तो बनाउलान् ?




प्रतिक्रिया दिनुहोस्