Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


बागमतीसहित ३ प्रदेशमा कार्तिक १३ देखि १५ गतेसम्म वर्षा र भारी हिमपातको सम्भावना

सतर्कता अपनाउन विभागको अनुरोध

1.4k
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण बिहीबारदेखि शनिबारसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने अनुमान गरेकाे छ।

प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको भएको हो । विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको विभागले जनाएको छ । 

सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायत जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि र पर्यटन लगायत क्षेत्रमा समेत प्रभाव पर्न सक्ने जानकारी गराउदै विभागले सम्बन्धित सबै निकायहरू र आम सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध छ । मनाङ र मुस्ताङमा मंगलबार पश्चिमी वायू र अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा भारी वर्षा भएको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले मंगलबार मनाङ र मुस्ताङमा भारी वर्षा भएकाे बताउनुभएकाे हाे। विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी मुस्ताङको जोमसोममा ५१ दशमलव २ मिलिमिटर वर्षा भएको छ । ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षामा मापन गर्ने गरिन्छ ।

अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ । मंगलबार दिउँसाे ३ बजेर ४० मिनेटसम्मको अभिलेख अनुसार डोल्पाको दुनैमा ३६, जुम्लामा १३ मिलिमिटर वर्षा भएको हाे । पछिल्लो १२ घण्टामै बागलुङ, पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१ दशमलव ८ मिलिमिटर र सिन्धुपाल्चोकमा २९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ।

चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको हाे। हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा चिसो बढे पनि वर्षा भने हल्का भएको छ। मंगलबार राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र हिमपात जारी रहेकाले आवश्यक सावधानी अपनाउन आम नागरिकमा अनुरोध समेत गरेकाे हाे।