काठमाडाैं । नेपाल सितोरियो कराते संघले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई सम्मान गरेको छ।
संघले एरिकालाई १ लाख र कुशललाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । एरिकाले चीनको हाङ्झाउमा सम्पन्न सन् २०२२ को एसियाली खेलकुदमा महिला कुमुते ६८ किलोमाथिको तौल समूहमा रजत पदक जितेकी थिइन् । उक्त समूहको सेमिफाइनलमा उनले हङकङकी यान काइ होलाई ८–४ को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् ।
एरिकाको यो पदक २५ वर्षपछि एसियाली खेलकुदमा व्यक्तिगत प्रतिस्पर्धामा नेपालको तेस्रो रजत पदक हो । साथै, यो १९औं एसियाली खेलकुदमा नेपालको एकमात्र रजत पदक पनि हो । सन् २०२४ मा अमेरिकामा आयोजित यूएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा उनले स्वर्ण र रजत दुवै पदक जितेकी थिइन् । उनले सन २०२५ जुन ३ मा मोरक्कोको राबातमा सम्पन्न कराते–१ प्रिमियर लिगमा ऐतिहासिक उपलब्धि हात पार्दै नेपालका लागि पहिलो पटक पदक जितिन् ।
महिला कुमुते ६८ किलोमाथि समूहमा प्रतिस्पर्धा गर्दै उनले फ्रान्सकी पिया क्लेमेंसलाई रिपिचाज राउन्डमा ६–२ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन् । यो नेपालको कराते इतिहासकै सबै भन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता मानिएको छ । अब उनले इजिप्टको कायरोमा विश्व कराते च्याम्पियनसिप खेल्नेछिन् । यी सबै सफलतामा कुशल उनको प्रशिक्षक हुन् ।




प्रतिक्रिया दिनुहोस्