Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


राष्ट्रपतिद्वारा सूर्यसहित छठी माताको पूजा आराधना


65
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गर्नुभएको छ ।

सोमबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गर्नुभएको हो ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ । तर यस वर्ष भने गुह्वेश्वरीमा मात्रै जानुभएको हो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी(गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ । छठ पर्वका अवसरमा सोमबार अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि भव्य रूपमा सजाइएको थियो ।

छठ पर्व हेर्ने सर्वसाधारणहरूको पनि छठ घाटमा उल्लेख्य भीड रहेको छ । गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरी पूजा आराधना गरिएको छ ।

सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका ब्रतालु मंगलबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । छठको ब्रत बसेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा वर्णित छ ।

महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा छठ पर्व मनाउने परम्परा सुरू भएको मानिन्छ ।