काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गरेर आफ्नो राजनीतिक गतिविधि तीव्र बनाउने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेता गणेश पराजुलीले रास्वपा लोकतान्त्रिक सिद्धान्तमा आधारित पार्टी भएकाले अब सम्पूर्ण ध्यान निर्वाचन तयारीमा केन्द्रित गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार निर्वाचनलाई सफल बनाउन अन्य राजनीतिक दलहरूले पनि सक्रिय भूमिका खेल्नुपर्ने रास्वपाको मत रहेको छ । साथै, न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई पूर्ण समर्थन रहने स्पष्ट गरिएको छ ।
पराजुलीले सरकारले सबै दलको सहभागितासहित निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिँदै मतदाता नामावली अद्यावधिकका लागि कात्तिक ३० गतेसम्मको समय सीमा दिइएको उल्लेख गरे । यस क्रममा पार्टीले आफ्ना समर्थकहरूलाई नामावली दर्ता गर्न आह्वान गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा तल्लो तहको अधिवेशन, उम्मेदवार चयनका मापदण्ड तयार गर्ने, र पार्टीको विस्तारित भेला आयोजनासहितका विषयमा पनि छलफल भएको थियो । सचिवालय बैठक पुनः मंगलबार बस्ने कार्यक्रम छ।




प्रतिक्रिया दिनुहोस्