काठमाडौं ।
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको उल्लेख गर्दै उनीहरुमाथि कारबाही हुने बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक खापुङले समाजलाई धमिल्याउने अपराधिक गतिविधिहरुलाई प्रहरीले कुनैपनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताउनु भयो । जेनजी आन्दोलनपछि प्रहरीहरुको मनोबल खस्केको भन्ने भनाईमा सत्यता नरहेको पनि उहाँले बताउनु भयो ।
प्रहरी महानिरीक्षक खापुङले जेन-जी आन्दोलनपछि प्रहरीहरु स्थानीय जनताको सहयोगमा नै सबै चौकीहरुमा पुनःस्थापना हुन सकेको बताउनु भयो । उहाँले भन्नुभयो,‘जेन-जी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरु पनि चलखेल भएको देखिएको छ ।
त्यो वास्तवमा गलत हो । र त्यो अपराधिक कार्य नै हो । त्यस्ता अपराधिक कार्यहरु दण्डित हुनुपर्छ । उनीहरु क्रमशः दण्डित हुन्छन् भन्नेकुरा यहाँहरु सबै समक्ष आश्वस्त पनि बनाउन चाहन्छु । यो आन्दोलन पश्चात आम रुपमा प्रहरीको मनोबल खस्केको जस्तो पनि देखिएको थियो ।
तर प्रहरीको मनोवल खस्कनुपर्ने कुनै कारण छैन । प्रहरीप्रति आम वर्गको अपेक्षा ठूलो छ । तर ती सबैको अपेक्षा पूर्ति गर्नसक्ने अवस्था रहँदैरहँदैन । प्रहरीले त रोक्नुपर्ने हुन्छ । नो भन्नुपर्ने हुन्छ । कुनैपनि अपराधिक गतिविधिलाई रोक्नुपर्ने हुन्छ ।’प्रहरी महानिरीक्षक खापुङले समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने दाबी समेत गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्