विराटनगर । मोरङमा बेपत्ता भएको १८ दिनपछि एक बालिकाको शव जंगलमा बीभत्स अवस्थामा फेला परेको छ ।
लेटाङ नगरपालिका २ स्थित स्कुल चौककी १३ वर्षीया बालिका अंशु गौतमको शव शुक्रबार दिउँसो करिब साढे १ बजे स्थानीय जंगलमा बीभत्स रुपमा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टाछुट्टै सडेको अवस्थामा शव भेटिएको जनाएको छ । बालिकाले लगाएका कपडा र चप्पल पनि छुट्टाछुट्टै स्थानमा फेला परेको थियो । भित्री वस्त्र पनि खोलिएको अवस्थामा शव भेटिएको प्रहरी अधिकारीको भनाइ छ ।
सडेर दुर्गन्ध फैलिएको अवस्थामा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशु असोज २१ गते दिउँसो ४:३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेकी थिइन् ।
उनकाे बेपत्ता भएपछि उनको खोजी भइरहेको थियो । शुक्रबार बीभत्स अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी स्रोतका अनुसार, बालिकाको बलात्कारपछि हत्याको आशंका छ । कपडा खोलिएको र शरीरका अंग छुट्टाछुट्टै अवस्थामा भेटिएकाले बलात्कार पछि हत्या भएको जस्तो देखिएको प्रहरीको आशंका छ । शव भेटिएपछि घटनास्थल पुगेका मोरङ प्रहरी प्रमुख कबित कटवालले अनुसन्धान सुरु गरेको जानकारी दिइन् ।









प्रतिक्रिया दिनुहोस्